• Menu

सेजन सदस्यको १६ करोड रुपैयाँबराबरको स्वास्थ्य बिमा

नेपाल प्रफिट

२०८० फागुन १७, बिहीबार १९:३०

सेजन सदस्यको १६ करोड रुपैयाँबराबरको स्वास्थ्य बिमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गरेको हो ।

एक कार्यक्रमबीच बिहीबार हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गरेका छन् ।

यद्यपि पोलिसी फागुन ४ देखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बिमाको अवधि एक वर्षको हुनेछ ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाका लागि समेत संस्था गम्भीर रहेको बताए । त्यसै क्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको उनले जानकारी दिए ।

‘हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धिलगायत काम गर्दै आएका छौं, जुन सधै कायमै रहन्छ,’ उनले भने, ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौं ।’ सदस्यको हितमा काम गर्नु संस्था र आफ्नो दायित्व भएको अध्यक्ष ओलीले बताए ।

सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा गराउन पाउनु खुसीको विषय भएको बताए । उनले सबै नेपाली बिमामा जोडिन आवश्यक रहेको समेत स्पष्ट पारे ।

तर, बिमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको स्वीकारोक्ति छ । ‘बिमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण भएको छैन,’ उनले भने ।

आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बिमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्