काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक निष्कासन (आईपीओ)मा १९ गुणा बढी आवेदन परेको छ । पहिलोपल्ट बुक बिल्डिङ विधिबाट आइतबार सर्वसाधारणका लागि खुला गरिएको आईपीओ भर्ने समय सकिँदा बुधबार साँझ ५ बजेसम्ममा १९.३२ गुणा बढी आवेदन परेको हो ।
सर्वोत्तम सिमेन्टको आईपीओ फागुन १३ देखि सर्वसाधारणका लागि खुला भएको थियो । कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले सर्वसाधारणलाई बिक्रीका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर छुट्याएको थियो । कम्पनीको आईपीओमा १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँको सेयर जारी गरेको हो । अंकित मूल्य १०० रुपैयाँ भए पनि सर्वसाधारणले एक कित्ताका लागि ३६० रुपैयाँ ९० पैसाले आवेदन दिएका छन् । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्दा सो मूल्य तय भएको हो ।