काठमाडौं । वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम थुप्रिँदै जाँदा कर्जाको औसत आधार दर पनि लगातार ओरालो लागेको छ । असारयता वाणिज्य बैंकहरुको औसत आधार दर १०.०७ प्रतिशतबाट ९.३२ प्रतिशतमा झरेको हो ।
माघको तुलनामा पनि वाणिज्य बैंकहरूको औसत आधार दर घटेको छ । माघका लागि वाणिज्य बैंकहरुको औसत आधार दर ९.६६ प्रतिशत थियो ।
फागुनमा तीनवटा बाहेक सबै वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ । कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकको आधार दर भने १० प्रतिशतभन्दा माथि छ । कुमारी र प्राइम कमर्सियल बैंकको आधार दर सबैभन्दा धेरै १०.३१ प्रतिशत छ भने हिमालयनको १०.१३ प्रतिशत छ ।
राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.९२ प्रतिशतमा झरेको छ । बैंकहरूले आधार दरमा अधिकतम ५ प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ । तर, कर्जा प्रवाह निकै सुस्त बनेपछि बैंकहरूले २ प्रतिशत हाराहारीमात्र प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेका छन् । कम आधार दर भएको बैंकले सस्तो ब्याजमा कर्जा प्रवाह गर्न सक्छ ।
ब्याजदर घट्दै गए पनि बैंक वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्न सकेको छैन । वाणिज्य बैंकहरुबाट असार ३१ देखि फागुन १३ सम्ममा जम्मा १ खर्ब ८३ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । असार ३१ मा ४३ खर्ब १४ अर्ब रहेको वाणिज्य बैंकहरुको कर्जा प्रवाह फागुन १३ मा ४४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा कर्जा प्रवाह फागुनसम्ममा ४.२६ प्रतिशतले मात्र बढेको छ । तथापि, गत वर्षको भन्दा यो केही धेरै हो । गत वर्षभरमा ३.४२ प्रतिशतले बढेको थियो ।
नेपाल बैंकर एसोसिएसनका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सरकारले पुँजीगत खर्च बढाउन नसक्दा कर्जाको विस्तार सोचेअनुरुप हुन नसकेको बताउँछन् ।
‘सरकारले पुँजीगत खर्च गर्न सक्ने हो भने आर्थिक चलायमान पनि हुन्छ, कर्जाको माग पनि बढ्छ,’ उनले नेपाल प्रफिटसँग भने, ‘अहिले ब्याजदर पनि घटेको र लगानीयोग्य रकम ४ खर्बभन्दा बढी भएको अवस्थामा पनि कर्जाको माग नहुनु पक्कै पनि अर्थतन्त्रका लागि राम्रो कुरा होइन ।’
