• Menu

सीजी मोटर्सले भन्यो- अब सेल्स, सर्भिस र स्पेयरलाई विशेष ध्यान दिन्छौं, मार्केट लिडर बन्छौं

नेपाल प्रफिट

२०८० फागुन १६, बुधबार १२:०९

सीजी मोटर्सले भन्यो- अब सेल्स, सर्भिस र स्पेयरलाई विशेष ध्यान दिन्छौं, मार्केट लिडर बन्छौं

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सीजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउने भएको छ ।

केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताले आफ्टर सेल्स सर्भिसमा समस्या व्यहोर्नुपरेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको हो ।

सीजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ । ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्टि हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिन्छौं,’ सीजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहने छैन ।’

हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाएलगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सीजी मोटर्सले जनाएको छ । कम्पनीको प्रतिवद्धता छ, ‘हामी उत्कृष्ट थ्रि एस सेवा दिने प्रतिबद्धता जाहेर गर्छौं, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरी उत्कृष्ट बनाउनेछौँ । पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको छ ।

पार्टपुर्जा आयात गर्न प्रतितपत्र (एलसी) खोलिसकेको जनाइएको छ । ‘केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ तर यस्तो अभाव धेरै समय रहने छैन,’ सीजी मोटर्सका सेल्स एन्ड अपरेसन हेर्ने जीएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिँदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’

नेपालमा हिरो लोकप्रिय ब्रान्डका रुपमा स्थापित छ । हिरोका मोटरसाइकल र स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छन् । हजारौंको संख्यामा रहेका हिरोका ग्राहकहरु सन्तुष्ट गराउने एकमात्र लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

‘सेल्स, सर्भिस, स्पेयर्स पार्टससँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । हामीले अबदेखि वारेन्टीलाई सुनिश्चित गर्नेछौँ,’ सीजीले भनेको छ । सीजीले हिरो ब्रान्ड लिनुअघि वारेन्टीका समस्या छन् भने पनि समाधानका लागि पहल गर्ने जनाएको छ ।

नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिअनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुपमातहतको सीजी मोटर्ससँग सहकार्य गरेको थियो ।

सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरु एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रिनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ । यसले स्थानीय अर्थतन्त्र र रोजगारीका अवसर सिर्जना गर्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्