काठमाडौं । नेकपा एमालेकी सांसद भगवती चौधरीले ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्नेहरुलाई सुनपानी छर्किने काम भएको बताएकी छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा चौधरीले भनिन्, ‘न्यायालय प्रभावित भएको हो कि के भएको हो, कर्मचारी र जग्गा खरिदकर्ताहरुलाई दोषी देख्ने भएको छ तर आदेश दिने, नीतिगत निर्णय गर्ने र सदर गर्नेहरुलाई सुनपानी छर्किने काम भएको छ ।’
उनले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने गरेको प्रति पनि संशय पैदा भएको बताइन् । ‘कर्मचारीमात्र दोषी हुने हो भने हामीले जनतालाई के सन्देश दिइरहेका छौं ?’ उनले भनिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको ललिता निवास रहेको बालुवाटारको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले फागुन ३ गते ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको छ ।
कर्मचारी र जग्गा खरिदकर्ताहरुलाई सजाय सुनाउँदा विशेष अदालतले आदेश दिने, नीतिगत निर्णय गर्ने र सदर गर्नेहरु पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायतलाई उन्मुक्ति दिने फैसला सुनाएको छ ।