• Menu

जापानले गुमायो विश्वको तेस्रो ठूलो अर्थव्यवस्थाको हैसियत, उपभोग र पुँजीगत खर्च सुस्त हुँदा थप दबाब

नेपाल प्रफिट

२०८० फागुन ३, १३:४२

जापानले गुमायो विश्वको तेस्रो ठूलो अर्थव्यवस्थाको हैसियत, उपभोग र पुँजीगत खर्च सुस्त हुँदा थप दबाब

एजेन्सी । गत वर्षको अन्त्यमा अप्रत्यासित रूपमा मन्दीमा फसेको जापानले विश्व अर्थतन्त्रको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको उपाधि जर्मनीलाई सुम्पिएको हो ।

सन् २०२३ मा जापानको जीडीपी ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) छ । जबकि, सन् २०२३ मा जर्मनीको जीडीपीको आकार ४.४६ ट्रिलियन डलर कायम भएको छ ।

जापानको गिर्दो आर्थिक गतिविधिमा केन्द्रीय बैंकको कमजोरीलाई मुख्य कारक मानिएको छ । दशक अघिदेखि निरन्तर अपनाउँदै आएको लचिलो मौद्रिक नीतिलाई बैंक अफ जापानले पुनरावलोकन नगर्दा जापान अप्रत्यासित रूपमा आर्थिक मन्दीमा फसेको विश्लेषण अर्थशास्त्रीहरुले गरेका छन् ।

कतिपय अर्थ विश्लेषकहरुले चीनसँगको घट्दो व्यापार, आन्तरिक मागमा छाएको सुस्तता र टोयोटा मोटर कर्पको एउटा एकाइबाट उत्पादन रोकिएका कारण सन् २०२४ को पहिलो त्रैमासमा अर्को संकुचन देखापर्ने अनुमान गरेका छन् । यो नीति निर्माणक लागि पनि चुनौतीपूर्ण बन्ने उनीहरुको टिप्पणी छ ।

दाइ-इची लाइफ रिसर्ज इन्स्टिच्युटका वरिष्ठ कार्यकारी अर्थशास्त्री योसिकी सिन्केले उपभोग र पुँजीगत खर्चमा आएको सुस्तताका कारण जापानको अर्थतन्त्रले तत्काल गति नलिने बताएका छन् ।

जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासमा ३.३ प्रतिशतले घटेको थियो भने अक्टोबर-डिसेम्बर अवधिमा वार्षिक ०.४ प्रतिशतले घटेको छ । सरकारले चालु त्रैमासमा १.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । तर, कमजोर आर्थिक परिदृश्यका कारण सरकारी अनुमान धेरैका लागि अपत्यारिलो बनेको छ ।

लगातार दुई त्रैमास संकुचन देखिनुलाई प्राविधिक मन्दीको रुपमा लिने गरिन्छ । मुडिज एनालिटिक्सका वरिष्ठ अर्थशास्त्री स्टेफन एन्ग्रिकले जीडीपीमा लगातार दुई त्रैमास र आन्तरिक मागमा लगातार तीन त्रैमास गिरावट आउनले निकै खराब आर्थिक स्थितिको संकेत गर्ने बताएका छन् । तर, नीतिगत सुधारले आगामी त्रैमासमा फरक परिदृश्य देखिन सक्ने उनको टिप्पणी छ ।

विश्लेषकहरुले बैंक अफ जापानले लचिलो मौद्रिक नीतिलाई निरन्तरता नदिने र मौद्रिक प्रोत्साहनको नीतिबाट यो वर्ष पछि हट्ने आशा गरेका छन् । केन्द्रीय बैंकको कमजोर तथ्यांकले बढ्दो ज्यालाले खपत बढाउने तथा मुद्रास्फीतिलाई २ प्रतिशतको लक्षित सीमाभित्र राख्नेमा उनीहरुले आशंका गरेका छन् । यसले केन्द्रीय बैंकलाई ज्याला दर वृद्धिको औचित्य प्रमाणित गर्न गाह्रो बनाउने वरिष्ठ अर्थशास्त्री एन्ग्रिकको तर्क छ ।

अर्थमन्त्री योसिताका सिन्डोले उपभोग बढाउन ज्याला वृद्धि गर्नुपर्ने बताएका छन् । बैंक अफ जापानले आन्तरिक खपतको अवस्थाका साथै अन्य विभिन्न तथ्यांकहरुको गहन अध्ययन गरी अर्थतन्त्रलाई गति दिन मौद्रिक नीतिको प्रभावकारितालाई विश्लेषण गर्ने उनको बुझाइ छ ।

गत साता जापानी मुद्रा येन पनि अमेरिकी डलरको तुलनामा तीन महिनायताको न्यून विन्दु अर्थात् १५०.२२ प्रतिडलर कायम भएको थियो । त्यस्तै जापानी स्टक एक्सचेन्ज परिसूचक ३४ वर्षयताको उच्च विन्दुमा पुग्यो ।

मित्सुबिसी यूएफजे मोर्गन स्टेन्ली सेक्युरिटिजका प्रमुख बन्ड रणनीतिकार नाओमी मुगुरुमाले कमजोर घरेलु मागका कारण बैंक अफ जापानलाई कसिलो मौद्रिक नीति लिन थप असहज हुने बताएका छन् ।

आर्थिक गतिविधिलाई आधाभन्दा बढी चलायनमान गराउन निजी क्षेत्रको उपभोग जापानमा ०.२ प्रतिशतले घटेको छ, जुन अनुमानभन्दा ०.१ प्रतिशत विन्दु बढी हो । जीवनयापनमा बढ्दो लागत र न्यानो मौसमका कारण खाना खान र जाडोका कपडा किन्न मानिसहरु निरुत्साहित हुँदा आन्तरिक माग प्रभावित भएको छ ।

त्यस्तै निजी क्षेत्र र मुख्यत: आर्थिक चलायनमान बढाउने मुख्य कारक पुँजीगत खर्च ०.३ प्रतिशतले बढ्ने पूर्वानुमानविपरीत ०.१ प्रतिशतले घटेको छ । उपभोग र पुँजीगत खर्च लगातार तेस्रो त्रैमाससम्म संकुचित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ठूला कम्पनीहरूले मार्च अन्त्यसम्ममा पुँजीगत खर्च १३.५ प्रतिशतले वृद्धि गर्ने अपेक्षा गरेको त्रैमासिक सर्वेक्षणले देखाएको छ । तर, कच्चा पदार्थको बढ्दो लागत र श्रमिक अभावका कारण वास्तविक लगानीमा ढिलाइ भएको विश्लेषकहरू बताउँछन् ।

पुँजीगत खर्चको प्रमुख सूचक मानिने मेसिनरी बस्तुको आयातमा नोभेम्बरमा देखिएको संकुचनले अर्थतन्त्र सुधारिँदै जान्छ भन्ने बैंक अफ जापानको दाबीलाई गलत सावित गरिदिएको अर्थशास्त्रीहरुको तर्क छ ।

बाह्य माग अर्थात् आयातभन्दा बढ्दो निर्यातले गत त्रैमासमा जीडीपीमा ०.२ प्रतिशत योगदान गरेको थियो । अघिल्लो त्रैमासको तुलनामा गत त्रैमासमा निर्यात २.६ प्रतिशत बढेको जापानी अर्थ मन्त्रालयले जनाएको छ ।

आउँदो अप्रिलमा बैंक अफ जापानले लचिलो मौद्रिक नीतिको पुनरावलोकन गर्ने तथा नकारात्मक दरहरु हटाउने तयारी गरिरहे पनि ढिलो गरी लागू हुने नीतिहरुले अर्थतन्त्रका जोखिमहरु कम गर्नेमा आशंका बढाएको छ ।