• Menu

तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, यस्तो छ कारण

नेपाल प्रफिट

२०८० फागुन २, बुधबार १५:५७

तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, यस्तो छ कारण

काठमाडौं । तीन विकास बैंक र तीन फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोशी विकास बैंक र नारायणी डेभलपमेन्ट बैंक तथा प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र सप्तकोशी विकास बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ भने नारायणी डेभलपमेन्ट बैंकलाई जरिवाना गराएको छ ।

व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको र उक्त रकम पछि फिर्ता गरेको पाइएपछि सचेत गराइएको हो ।

त्यस्तै संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पनि स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । सप्तकोशीका सीईओले कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएकाले सचेत गराइएको हो ।

नारायणी डेभलपमेन्ट बैंकले नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेकाले जरिवाना गराइएको छ । कम्पनीलाई १२ हजार ८४६ रुपैयाँ जरिवाना गराइएको छ । बैंकले साउन र भदौमा कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी गराएकाले थप २ लाख ४२ हजार जरिवाना गरिएको छ ।

त्यसैगरी राष्ट्र बैंकले तीनवटै फाइनान्स कम्पनीलाई सचेत गराएको छ । प्रोग्रेसिभ फाइनान्सले चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रक्रिया अपनाई जोखिमपूर्ण कर्जा दिएको पाइएकाले सीईओ र सञ्चालक समितिलाई सचेत गराइएको छ ।

गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सुदपयोगिता सुनिश्चित नगरी महर्जन बिजनेस एसोसिएट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएपछि सञ्चालक समिति र कार्यकारी प्रमुखलाई उपयुक्त निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै गुह्येश्वरी मर्चेन्ट बैंकिङले गत आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि सेचत गराइएको छ ।