• Menu

व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले भित्र्यायो चिनियाँ ब्रान्ड एआईओएन वाई, कति छ मूल्य ?

नेपाल प्रफिट

२०८० फागुन १, मंगलबार २१:०२

व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले भित्र्यायो चिनियाँ ब्रान्ड एआईओएन वाई, कति छ मूल्य ?

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले चिनियाँ ब्रान्ड एआईओएन वाई भित्र्याएको छ । गत वर्षको जेठमा नेटा भी आयात गरेर विद्युतीय गाडी आयात थालेको सीजीले डेढ वर्षको अवधिमा चारवटा विद्युतीय ब्रान्डका सवारीसाधन नेपाली बजारमा भित्र्याएको छ ।

सीजी मोटर्सले मंगलबार चिनियाँ गाडी निर्माता ग्वान्झाओ अटोमोबाइल ग्रुप कर्पोरेसन (जीएसी) मोटर्सले उत्पादन गरेको एआईओएन वाई नेपालमा सार्वजनिक गरेको हो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कम्पनीको थापाथली सोरुमबाट उक्त विद्युतीय गाडी सार्वजनिक गरेका छन् ।

सात रंगमा उपलब्ध एआईओएन वाई अन्य प्रतिस्पर्धी विद्युतीय सवारीसाधनको तुलनामा उत्कृष्ट हुने सीजी मोटर्सको विश्वास छ । ‘यो सवारीको आकर्षक डिजाइ र सहजताले यात्रुलाई थप आकर्षित गर्न सक्छ,’ उनले भने ।

४५ सय ३५ एमएम लम्बाई, १८ सय ७० एमएएम चौडाइ र १६ सय ५० एमएएम उचाइ रहेको यो विद्युतीय गाडी अत्याधुनिक ब्याट्री प्रणालीका कारण अन्यभन्दा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

२७ सय ५० एमएएमको ह्विलबेस, ५ वटा सिट, ४९० किलोमिटरको रेन्ज (एनईडीसी), ब्याट्रीको साइज ६१.५ किलोवाट प्रतिआवर छ । एआईओएन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ छ ।

एआईओएन ब्रान्डले छोटो समयमै लोकप्रियता हासिल गरेको छ । सन् २०२३ मा एआईओएन ब्रान्डका गाडी चीनमा २१ हजार ११५ वटा कार बिक्री भएका थिए ।

यो ब्रान्ड सन् २०२३ मा चीनमा बिक्री हुने विद्युतीय सवारीको बजारमा चौथो शीर्ष स्थानमा छ । चिनियाँ बजारमा ९८ हजार ४२३ वटा गाडी बेच्दै बीवाईडी पहिलो स्थानमा, ३९ हजार ८८१ वटा गाडी बेच्दै टेस्ला दोस्रो स्थानमा र २७ हजार ५५७ वटा गाडी बिक्री गर्दै उलिङ तेस्रो स्थानमा छ ।

सीजीले नेटा भी र नेटा एक्स बिक्री गरिरहेको छ । गत जेठदेखि सीजीले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार पनि नेपाली बजारमा बेचिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्