• Menu

नेप्से १० अंकले घट्दा पनि १० प्रतिशत बढ्यो समाज लघुवित्तको सेयर मूल्य

नेपाल प्रफिट

२०८० माघ २८, आइतबार १७:१८

नेप्से १० अंकले घट्दा पनि १० प्रतिशत बढ्यो समाज लघुवित्तको सेयर मूल्य

काठमाडौं । सेयर बजार परिसूचक नेप्से १० अंकले घट्दा पनि समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार आइतबार १०.५ अंकले घट्दा समाजको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने पुस १९ देखिको प्रवृत्तिले निरन्तरता पाएको हो ।

समाजको सेयर आइतबार ९२ रुपैयाँ ३० पैसा बढेर १०१५ रुपैयाँ ५० पैसा पुगेको छ । आज यो कम्पनीको १८० कित्ता सेयर १९ पटक किनबेच हुँदा १ लाख ८० हजार ९७६ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा समाज लघुवित्तको २ लाख २८ हजार ५ सय कित्ता सेयर सूचीकृत छ । त्यसमा पनि संस्थापक सेयरको हिस्सा ५७ प्रतिशत अर्थात् १३० हजार २४५ कित्ता छ भने सर्वसाधारण सेयरको हिस्सा ४३ प्रतिशत अर्थात् ९८ हजार २२५ कित्ता छ ।

अहिले उचालिएको मूल्य सर्वसाधारण सेयरको हो । कम्पनीको संस्थापक सेयर किनबेच भएको छैन । कम्पनीको सेयर संख्या अत्यन्तै न्यून भएकाले मूल्य बढाउन सजिलो भएको सेयर विश्लेषकहरुको टिप्पणी छ ।

नेप्से परिसूचक भने आइतबार २०८५.८२ अंकमा ओर्लिएको छ । बजार घट्दा पनि ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ । आइबार कारोबार रकममा भने सुधार आएको छ ।

आज ३०५ कम्पनीको ४ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो रकम गत साताको बिहीबारको भन्दा झन्डै १ अर्ब रुपैयाँ बढी हो । बिहीबार ३ अर्ब १२ करोडको सेयर किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्