• Menu

समाज लघुवित्तको सेयर दुई महिनामा ७०० प्रतिशत बढ्यो, कस्तो छ कम्पनी ?

नेपाल प्रफिट

२०८० माघ २५, बिहीबार १७:१७

समाज लघुवित्तको सेयर दुई महिनामा ७०० प्रतिशत बढ्यो, कस्तो छ कम्पनी ?

काठमाडौं । समाज लघुवित्तको सेयर मूल्य दुई महिनामा ७ सय प्रतिशतभन्दा धेरैले बढेको छ । मंसिर तेस्रो सातासम्म १२२ रुपैयाँ हाराहारी रहेको यो लघुवित्तको सेयर मूल्य बिहीबार (माघ २५) गते ९२३ रुपैयाँ २० पैसा पुगेको छ ।

बिहीबार पनि कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जले मर्जर प्रयोजनका लागि कारोबार रोक्का गरेको समाज लघुवित्तको असार ३१ गते फुकुवा गरेको थियो । त्यसपछि पनि लामो समयसम्म कम्पनी सेयर कारोबारले गति लिन सकेको थिएन ।

कारोबार खुल्दा साउन १ गते कम्पनीको सेयर ५ पटक कारोबार भयो भने मूल्य ७२ रुपैयाँ १० पैसा कायम भयो । त्यसपछिका पाँच महिनामा जम्मा ८१ वटा कारोबार हुँदा मंसिर १७ गते सेयर मूल्य ११२ रुपैयाँ पुगेको थियो ।

मंसिर १८ देखि माघ २५ सम्मका ४४ वटा कारोबारमा कम्पनीको सेयर मूल्य ७ सय प्रतिशतभन्दा धेरैले बढेको छ । मंसिर १८ पछि पनि कम्पनीको सेयर मूल्य सुस्त हिसाबले बढेको थियो ।

तर, पुस १९ पछिका हरेक दिन यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । करिब एक महिनाको अवधिमा समाज लघुवित्तको सेयर प्रतिकित्ता २०२ रुपैयाँबाट ९२३ रुपैयाँ नाघेको छ । कम्पनीको सेयर मूल्य बिहीबारमात्रै ८३ रुपैयाँ ९० पैसा बढेको छ ।

समाज लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गरेको करिब ३ वर्षपछि दोस्रो बजारमा कारोबार भएको हो । नेप्सेमा समाज लघुवित्तको २ लाख २८ हजार ५ सय कित्ता सेयर सूचीकृत छ ।

त्यसमा पनि संस्थापक सेयरको हिस्सा ५७ प्रतिशत अर्थात् १३० हजार २४५ कित्ता छ भने सर्वसाधारण सेयरको हिस्सा ४३ प्रतिशत अर्थात् ९८ हजार २२५ कित्ता छ । अहिले उचालिएको मूल्य सर्वसाधारण सेयरको हो । कम्पनीको संस्थापक सेयर किनबेच भएको छैन ।

कम्पनीको सेयर संख्या अत्यन्तै न्यून भएकाले मूल्य बढाउन सजिलो भएको सेयर विश्लेषकहरुको टिप्पणी छ । अहिले पनि कम्पनी सेयर दैनिक पाँच‑सात वटाभन्दा बढी कारोबार हुने गरेको छैन । पाँच‑सात कारोबारमै सकारात्मक सर्किट लाग्ने गरी मूल्य बढ्ने गरेको हो ।

कस्तो छ कम्पनी ?

कम्पनीले २०७८/७९ को नाफाबाट पहिलोपटक १५ प्रतिशत लाभांश बाँडेको छ । आर्थिक वर्ष २०७९/८० मा ७५ लाख ८२ हजार नाफा कमाएको कम्पनीले लगानीकर्तालाई प्रतिफल घोषणा गरेको छैन ।

समाज लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ लाख ७० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । सञ्चालन नाफा ऋणात्मक हुँदा संस्था घाटामा पुगेको देखिन्छ ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा १ करोड ८८ लाख ४० हजार सञ्चालन घाटा व्यहोरेको छ । कम्पनीले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको रकम बढेकाले पनि सञ्चालन घाटा बढेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी घटेर ६७ लाख ६ हजार रुपैयाँमा झरेको छ । संस्थाको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ छ भने जगेडा कोष २३ सय प्रतिशतले बढेर २ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा नोक्सानीमा छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २६ पैसा छ । पुससम्ममा कम्पनीको खराब कर्जा बढेर ४.०१ प्रतिशत नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्