• Menu

विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १४:३६

विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले बिहीबार बोलकबोलमार्फत ८ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

विकास ऋणपत्र २०८८ ‘ज’ नाम दिएको ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्म कायम भएको ‘कट अफ’ ब्याजदर एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर पनि कर्जा लिन र दिन पाइनेछ ।

ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ भने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ५ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ५ करोड रुपैयाँ ऋणपत्र छुट्याइएको छ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेस गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने व्यवस्था छ ।