एजेन्सी । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ले क्षतिग्रस्त संसारमा मानव अधिकारको रक्षाका लागि यस वर्ष ५० करोड अमेरिकी डलर आवश्यकता रहेको बताएको छ ।
‘हामी अत्यन्त विभाजित समयमा बाँचिरहेका छौँ, विश्वका कयौँ भागमा, हालै मध्यपूर्वमा द्वन्द्व जारी छ,’ राष्ट्रसंघीय मानव अधिकार प्रमुख वोल्कर टर्कले जेनेभामा कूटनीतिज्ञहरूसँग भने, ‘यी युद्धहरूले गहिरो घाउ बनाइरहेका छन्, यसले न्यायबिना सम्पूर्ण मुलुकको भविष्यलाई धेरै नै नोक्सान पुर्याउनेछ, थप ध्रुवीकरण बढाउनेछ र गहिरो विभाजन उत्पन्न गर्नेछ ।’
मानव अधिकार उच्चायुक्त कार्यालय (ओएचसीएचआर) मा ९१ मुलुकमा एक हजार ९६२ कर्मचारी छन् । ओएचसीएचआरले गत वर्ष १३ हजार ४७६ बन्दीको रिहाइ सुनिश्चित गर्न सहयोग गरेको, तीन हजार ६६४ अनुगमन मिसन सञ्चालन गरेको र ४३ मुलुकमा कानुन र नीतिहरूको सुधारमा योगदान गरेको बताएको छ ।
टर्कले जीवन परिवर्तन गर्न र विश्वभर सामना गरिरहेका केही मानव अधिकार चुनौतीहरूलाई सम्बोधन गर्ने क्षमतालाई ‘पर्याप्त रूपमा बढाउन’ ओएचसीएचआरलाई ५० करोड डलरको आवश्यकता रहेको बताए ।
सदस्य मुलुकहरूले गत वर्ष ओएचसीएचआरमा स्वेच्छिक योगदानका रूपमा २८ करोड ३२ लाख डलर योगदान गरेका थिए । उक्त रकम ओएचसीएचआरले मानव अधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सव मनाउन अनुरोध गरेको ४५ करोड २० लाखभन्दा धेरै कम हो । ओएचसीएचआरलाई सहयोग गर्ने शीर्ष दाताहरूमा युरोपेली संघ (ईयू), अमेरिका, स्विडेन, जर्मनी र नर्वे थिए ।