• Menu

पी टु पी लेन्डिङ र क्राउड फन्डिङको सम्भावनाका विषयमा राष्ट्र बैंकले गर्‍यो अध्ययन, यस्तो छ निष्कर्ष

नेपाल प्रफिट

२०८० माघ १४, २१:०४

पी टु पी लेन्डिङ र क्राउड फन्डिङको सम्भावनाका विषयमा राष्ट्र बैंकले गर्‍यो अध्ययन, यस्तो छ निष्कर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले पियर टु पियर (पी टु पी) लेन्डिङ र क्राउडफन्डिङको सम्भावनाका विषयमा अध्ययन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले पी टु पी लेन्डिङ र क्राउड फन्डिङको सम्भावनाका विषयमा अध्ययन गरेको हो ।

अध्ययनले सीमित वित्तीय पूर्वाधार नेपालमा पी टु पी लेन्डिङको प्रभावकारितामा बाधा बन्न सक्ने निष्कर्ष निकालेको छ । पी टु पी प्लेटफर्महरुका लागि कर्जा लिन चाहने व्यक्तिको इतिहास, जनसांख्यिक र सामुदायिक विशेषता, केन्द्रीकृत केवाईसीलगायतका विषयमा गहिरो जानकारी आवश्यक पर्ने अध्ययनमा उल्लेख छ ।

‘पी टु पी लेन्डिङको सफलता दर कर्जा लिन चाहने व्यक्तिका बारेमा प्राप्त हुन सूचनामा भर पर्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘त्यसकारण कमजोर वित्तीय पूर्वाधार पी टु पी लेन्डिङको विकासमा बाधक बन्न सक्छ ।’

नेपालमा पी टु पी लेन्डिङको प्रभावकारिताका लागि बलियो निकायमकीय निकायको आवश्यकता पनि अध्ययनले औंल्याएको छ । ‘पी टु पी लेन्डिङ नेपालका लागि नयाँ अवधारणा हो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसको प्रभावकारिताका लागि उच्च सतर्कता र निगरानी तथा बलियो नियामकीय क्षमता आवश्यक पर्छ ।’

नेपालले विश्व जगतमा वित्तीय प्रणालीमा भइरहेका विकासको प्रयोगमा जोड दिनुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

‘पियर टु पियर लेन्डिङ लगानीको नयाँ र वैकल्पिक अवधारणा हो,’ उनले भने, ‘यसले वित्तीय सेवाहरुको नवीन ढंगको विविधिकरणमा सहयोग गर्छ ।’

यस्ता प्लेटफर्महरुले व्यक्ति तथा साना व्यवसायलाई परम्परागत वित्तीय संस्थाहरुमा भर नपरीकन कर्जा प्रवाहमा सहयोग गर्नेछन् । ‘फाइदा र सम्भावना भएका कारण पी टु पी लेन्डिङले कर्जा लिन चाहने व्यक्ति या व्यवसायी र दिन चाहने संस्था दुवैको ध्यान खिचेको पनि पाइएको छ,’ अनुसन्धाता श्रेष्ठले भने ।

वित्तीय सेवाबाट वञ्चित जनसंख्याका लागि सहज पहुँच तथा आवेदन प्रक्रियाका कारण पी टु पी अवधारणाप्रति ऋणी आकर्षित भएको उनको बुझाइ छ । ‘त्यस्तै परम्परागत लगानीका विकल्पहरु बचत खाता, सरकारी बन्डलगायतमा भन्दा बढी प्रतिफल प्राप्त हुने हुँदा कर्जा दिन चाहने प्लेटफर्महरु पनि आकर्षित देखिन्छन् ।’

के हो पी टु पी लेन्डिङ ?

पी टु पी लेन्डिङ वित्तीय संस्थाहरुको मध्यस्थताबिना नै व्यक्तिहरु या साना व्यवसायले अन्य व्यक्तिबाट सिधै ऋण कारोबार गर्ने अवधारणा हो । पी टु पी लेन्डिङ वित्तीय प्रविधिको एउटा स्वरुप हो, जसमा व्यक्ति बैंकमा नपुगीकन कर्जा प्राप्त गर्न या प्रदान गर्न सक्छ ।

कर्जा लगानीको वैकल्पिक पद्धतिको रुपमा पी टु पी लेन्डिङ निकै फस्टाउँदै गएको छ । पी टु पी लेन्डिङलाई सामाजिक लेन्डिया अथवा क्राउड लेन्डिङ पनि भनेर चिनिन्छ ।

विश्वमा पी टु पी लेन्डिङको सुरुवात सन् २००५ मा मात्र भए पनि प्रतिस्पर्धीहरुको भीडका कारण लेन्डिङ क्लब र फन्डिङ सर्कलहरु बनिसकेका छन् ।