अमेरिका । नेपाली उद्यमी डा. समिर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेन्झ ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन कर्पबीच नास्डकमा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको हो । मर्जरपछि कम्पनीको दुई सय मिलियन डलरबराबरको हुने अपेक्षा गरिएको छ ।
कम्पनीका संस्थापकसमेत रहेका प्रमुख कार्यकारी अधिकृत डा. मास्केका अनुसार उक्त कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट नास्डाकमा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ ।
हाल उक्त सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरिसकेको छ भने अब सेयरधनीहरुको स्वीकृति र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कम्पनी नास्डाकमा सूचीकृत हुनेछ ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका सहप्राध्यापक डा. मास्केले सन् २०१३ मा फ्युजमेसिन्स कम्पनी स्थापना गरेका थिए । हाल फ्युजमेसिन्स कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत ४५० कर्मचारीमध्ये ३५० जना नेपालबाट काम गरिरहेको उनले बताए ।
डा. मास्केले कम्पनीको संस्थापकका रुपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय नास्डाकमा सूचीकृत भएर कारोबार गर्न पाउनु कोसेढुंगा भएको बताए ।
सम्झौताअनुसार सीएलएलएममा आबद्ध भएकाहरुले पाइप फाइनान्सिङ र प्रिक्लोजिङ फाइनान्सिङ गरी मिश्रित ढंगले फ्युजमेसिन्समा १९.४४ मिलियन डलरसम्म लगानीको प्रतिबद्धता जनाएका छन् ।