• Menu

नेप्सेमा लगातार गिरावट, चार दिनमा २१७५ बाट २०९८ अंकमा झर्‍यो परिसूचक

नेपाल प्रफिट

२०८० माघ ८, १६:३०

नेप्सेमा लगातार गिरावट, चार दिनमा २१७५ बाट २०९८ अंकमा झर्‍यो परिसूचक

काठमाडौं । बैंक वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाएपछि बजार बढ्ने अपेक्षाबीच लगातार ओरालो लागेको छ । माघका लागि बैंकहरुले १.७५२ प्रतिशतसम्म (कृषि विकास बैंक) ले ब्याजदर घटाए पनि सेयर बजारले भने उल्टो नतिजा दिएको हो ।

सेयर बजार परिसूचक नेप्सेमा लगातार चौथो दिन गिरावट आएको छ । नेप्सेमा सूचीकृत व्यापारबाहेकका सबै उपसमूह ओरालो लागेपछि समग्र बजार परिसूचक सोमबार ३१ अंकले घटेको हो ।

चार दिनमा नेप्से परिसूचक २१७५.१७ अंकबाट ७६.४६ अंकले घटेर २०९८.६९ अंकमा झरेको छ । नेप्से बुधबार १२.१०, बिहीबार ७.२४, आइतबार २५.६३ र सोमबार ३१.४९ अंकले घटेको हो ।

यद्यपि, परिसूचक ओरालो लागे पनि कारोबार रकम भने उत्साहजनक नै छ । बजार घटेका चारै दिन दैनिक ६ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भइरहेको छ ।

बुधबार ९ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ८ अर्ब १ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै आइतबार ७ अर्ब ६३ करोड ८९ लाख र सोमबार ६ अर्ब २८ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

कुल बजार पुँजीकरण चार दिनमा ३४ खर्ब १६ अर्ब ४२ करोडबाट घटेर ३२ खर्ब ९६ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । चार दिनमा लगानीकर्ताको सम्पत्ति १ खर्ब २० अर्ब १२ करोड रुपैयाँले घटेको छ ।