• Menu

एडीबीसँग २१ अर्ब ऋण र अनुदान सम्झौता

नेपाल प्रफिट

२०८० माघ ३, बुधबार १९:५५

एडीबीसँग २१ अर्ब ऋण र अनुदान सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब रुपैयाँबराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड रुपैयाँबराबर) को अनुदान सम्झौता भएको छ ।

सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे ।

परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताए । महिला, सीमान्तकृत तथा अर्थ‑सामाजिक रुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने उनको भनाइ छ ।

एडीबीका देशीय निर्देशक कोस्वाले सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताए । पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप सञ्चालनसँगै राजस्व वृद्धि, डिजिटल रूपान्तरण र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने उनको भनाइ छ ।

सम्झौता कार्यान्वयनपछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्