काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक वर्षमा १०१ काम गरेको दाबी गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री किराँतीले एक वर्षे कार्यकालमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास गरेको बताए ।
‘पद सम्हाल्दा धेरै चुनौती देखेको थिएँ । सुधारको प्रयास गरेको छु । अबको मुख्य काम नीतिगत र संरचनागत सुधार नै हो,’ उनले भने । पदबहालीकै दिन माला खादा नलाउने र दुई देशबीचको सम्झौता हुने अवसरमा बाहेक विदेश नजाने घोषणा गरेका मन्त्री किराँतीले स–साना कामबाट सकारात्मक सुधारको थालनी भएको उल्लेख गरे ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरव गर्न लायक ध्वजाबाहक बनाउने अठोट रहेको उनले उल्लेख गरे । उनले निकै कमजोर अवस्थालाई सुधारेर निगमको धुमिलिएको शाखलाई उँचो बनाउन प्रयास गर्ने उद्घोष गरेका थिए ।
पर्यटनमन्त्री किराँतीले निगमको संरचनागत सुधार र प्रतिस्पर्धी बजारमा व्यावसायिक फड्को मार्ने गरी केही कार्ययोजना अगाडि बढाइएको जानकारी गराए । उनले निगमको आन्तरिक उडानका लागि तीन जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी जहाज भाडामा ल्याउने र क्षेत्रीय उडानका लागि साना जहाज पनि सोही प्रक्रियाबाट ल्याउने गरी काम सुरु गरिएको उनको भनाइ छ । वर्षौंदेखि ग्राउन्डेड चिनियाँ जहाज बिक्रीका लागि बोलपत्र आह्वान गरिसकेको मन्त्रीको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै काठमाडौँबाट अष्ट्रेलियाको सहर सिड्नी उडानको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले निगमको ऋणको साँवा र ब्याजबापतको करिब चार अर्ब किस्ता भुक्तानी गरिएको बताए ।
पर्यटनमन्त्री किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सक्रिय बनाएर युरोपेली संघ (ईयू) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन प्रयास भइरहेको जनाए । ईयूको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको मन्त्री किराँतीको भनाइ छ ।
उनले श्री पशुपतिनाथ हिन्दू विश्वविद्यालय, पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालयको अध्ययन अघि बढाइएको र पर्यटन विश्वविद्यालयको मस्यौदा तयार भइसकेको जानकारी दिए । लुम्बिनीको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अन्तिम तयारी भएको पनि मन्त्री किराँतीले बताए ।
पुरानो गाउँको खोजी, नयाँ गन्तव्य प्रवर्धन, सम्पदा र संस्कृति संरक्षण तथा प्रवर्धनका काम अगाडि बढाइको उनको भनाइ छ । सरकारले घोषणा गरेको पर्यटन दशक कार्यान्वयनका लागि कार्यक्रम तय गरिएको पनि उनले जानकारी गराए । त्यस्तै, पर्यटन ऐन, संस्कृति ऐनलगायत नीतिगत सुधारका काम प्राथमिकताका साथ लैजाने मन्त्रालयले जनाएको छ ।
मन्त्रीको एकवर्षे प्रगति विवरणमा हवाई सुरक्षा अभिवृद्धि भएको, सम्पदा सरसफाइ अभियान प्रभावकारी बनाइएको, नेपाल तथा रुवान्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । त्यस्तै स्विट्जरल्यान्ड र इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको उल्लेख छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार ८८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यससँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर पर्यटक भित्र्याउने सरकारले घोषणा गरेको छ ।