
भैरहवा । लुम्बिनी प्रदेशमा आरोग्य पर्यटनको सम्भावना उजागर गर्दै आयोजित जनचेतना तथा पर्यटन प्रवर्धन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा नियमित सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको सहकार्य तथा नेपाल पर्यटन बोर्डको समर्थनमा भैरहवास्थित सिद्धार्थ भिलसामा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नेपालले एक करोड पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको बताए।
उनले भैरहवा र पोखरालाई विश्वका प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै विमानस्थल सञ्चालनमा देखिएको ढिलाइ राजनीतिक वा कूटनीतिक कारणले नभई नीतिगत कमजोरीका कारण भएको र ती समस्या समाधानको प्रक्रियामा रहेको स्पष्ट पारे।
नेपालमा सञ्चालन भइरहेको आरोग्य पर्यटन वर्षको सन्दर्भमा आयोजित कार्यक्रममा सरकारी अधिकारी, पर्यटन व्यवसायी, आरोग्य सेवा विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वस्थ जीवनशैली, योग, ध्यान, तनाव व्यवस्थापन तथा आरोग्य पर्यटनको सम्भावनाबारे छलफल गरिएको थियो।
स्पा संघ नेपालका अध्यक्ष सुरेश पुरीले उपचारभन्दा रोगको रोकथाम प्रभावकारी हुने उल्लेख गर्दै योग, ध्यान र व्यायामलाई आधुनिक जीवनशैलीमा तनाव व्यवस्थापनका महत्वपूर्ण उपायका रूपमा प्रस्तुत गरे। उनले आरोग्य तथा स्पा तालिम संस्थाहरूले अझै सरकारी मान्यता नपाएको विषयमा चिन्ता व्यक्त गर्दै सम्बन्धन प्रदान गरिए गुणस्तरीय जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए।
कार्यक्रमका वक्ताहरूले लुम्बिनीलाई धार्मिक पर्यटनसँगै आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए।
यसैबीच, ट्रन्क्यूलिटी स्पाले भैरहवाको सिद्धार्थ भिलसामा आफ्नो नयाँ शाखा पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले काठमाडौं, चितवन, पोखरा तथा मलेसियामा समेत सेवा विस्तार गरिसकेको छ। संस्थाले हाल तीन सयभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको तथा आफ्नो तालिम केन्द्रमार्फत तीन हजार पाँच सयभन्दा बढी व्यक्तिलाई आरोग्य तथा सौन्दर्यसम्बन्धी सीपमूलक तालिम दिइसकेको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal