• Menu

जापानी राजदूतले लेलेमा रोपे साकुराको बिरुवा

नेपाल प्रफिट

२०८० माघ १, सोमबार २१:२२

जापानी राजदूतले लेलेमा रोपे साकुराको बिरुवा

काठमाडौं । नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल-जापानबीच विशेष सम्बन्ध कायम रहेको र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन नेपाल जाइका अल्मुनाइ एसोसिएसन (जान)ले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

जानले आफ्नो स्वर्ण जयन्तीका अवसरमा गोदावरीको लेलेमा आयोजना गरेको साकुरा (जापानी चेरी)को बिरुवा रोप्ने कार्यक्रममा राजदूत किकुताले सो कुरा बताएका हुन् ।

जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका नेपालले जापानी स्वयंसेवक उपलब्ध गराई नेपालको सामुदायिक विकासमा सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै जापानी स्वयंसेवकले समेत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र जापानिज प्रविधि नेपाल भित्र्याउन ठूलो भूमिका खेलेको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जापानले गोदावरी नगरपालिकामा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिन जापानी राजदूतावास, जाइका नेपाल र जानलाई अनुरोध गरे ।

गोदावरी नगरपालिका-५ का अध्यक्ष मिलन सिलवालले जानले लामो समयदेखि लेलेमा सहयोग पुर्‍याइरहेको जनाउँदै रोपिएका साकुरा बिरुवाको पूर्णरूपमा संरक्षण गर्ने विश्वास दिलाए ।

जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जानले गोदावरीको लेले क्षेत्रमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममार्फत समुदायका व्यक्तिहरूको आयआर्जन र क्षमतामा अभिवृद्धि गरी जीवनस्तर उकास्ने कार्य गर्दै आएको बताए ।

गोदावरी नगरपालिका-५ ले साकुरा बगैँचा निर्माणका लागि जग्गा उपलव्ध गराई आवश्यक पूर्वाधार निर्माणमा समेत सहयोग पुर्‍याएकाले धन्यवाद ज्ञापन गर्दै उनले साकुरा बगैँचाले नेपाल-जापान सम्बन्ध मजबुत बनाउन थप सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे ।

स्वर्ण जयन्तीका अवसरमा जानले विभिन्न कार्यक्रम गर्ने सिलसिलामा लेलेमा ४० वटा साकुराका बिरुवा रोपी साकुरा बगैँचा निर्माण गरिएको छ । केही महिनाअगाडि राष्ट्रपति भवन शीतल निवासमा ३२ बोट साकुराका बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए ।

नेपाल-जापानको सम्बन्ध मजबुत बनाउन उल्लेखनीय योगदान गरेकाले जापान सरकारको परराष्ट्र मन्त्रालयले जानलाई प्रशंसा अवार्डसमेत प्रदान गरेको थियो । जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवानिवृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायीहरूको सामाजिक संस्था हो ।

यस संस्थाले दुई देशबीचको मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनका क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि क्रियाशील रहिआएको छ । यस वर्ष जानले आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव)को उपलक्ष्यमा विभिन्न कार्यक्रमसमेत आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्