एजेन्सी । फिलिपिन्सले विदेशी लगानी आकर्षित गर्न संविधान नै संशोधन गर्ने भएको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोसले विदेशी लगानी आकर्षित गर्न संविधान संशोधनबारे अध्ययन गर्न निर्देशन दिएका हुन् ।
राष्ट्रपति मार्कोसले सन् २०२२ जुन ३० मा राष्ट्रपति बनेलगत्तै संविधानमा रहेका केही व्यवस्थाले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा प्रतिबन्धित गरेको टिप्पणी गरेका थिए ।
फिलिपिन्सले सन् १९८७ मा नयाँ संविधान जारी गरेको थियो । जसमा राष्ट्रपतिको पदावधि ६ वर्ष तोकिएको छ ।
राष्ट्रपति मार्कोसले पत्रकारसँगको भेटमा कानुनका कुनै न कुनै प्रावधानले लगानीकर्तालाई असहजता पैदा गरिरहेको उल्लेख गरेका छन् । उनका अनुसार संविधानमा उल्लिखित आर्थिक प्रावधानले स्वदेशी तथा विदेशी लगानीकर्ताबीचको समानतालाई खण्डीकरण गरेको छ ।
व्यावसायिक विज्ञापन, सार्वजनिक उपयोगिता निजी तथा आवासीय भवनको स्वामित्वदेखि समुद्रमा माछा मार्नेलगायतका विषयसम्म कायम गरिएको सीमितताका कारण विदेशी लगानी निरुत्साहित भएको मार्कोसको ठहर छ ।
उनले आफ्नो प्राथमिक चासो लगानीमैत्री राष्ट्र निर्माण गर्नु रहेको बताएका छन् । मार्कोसको कार्यकाल सन् २०२८ को मध्यसम्म छ ।
फिलिपिन्सको प्रतिनिधि सभाका अध्यक्ष मार्टिन रोमुआल्डेजले पनि आगामी वर्ष संविधानका आर्थिक प्रावधान परिवर्तन गर्न दबाब दिने भएका छन् । चालु वर्षको सुरुमा फिलिपिनी सदनले सन् १९८७ को संविधान संशोधन गर्न अधिवेशन बोलाउने प्रस्ताव पारित गरेको थियो ।
विपक्षीहरूले भने मार्कोसमा संविधानको मर्मविपरीत उनका बुवाजस्तै लामो समय सत्तामा रहने आकांक्षा देखिएको भन्दै आलोचना सुरु गरेका छन् ।