• Menu

वारेन बफेट: १५५ खर्ब रुपैयाँका मालिक, बिताउँछन् यति साधारण जीवन

नेपाल प्रफिट

२०८० मंसिर २९, शुक्रबार २२:१६

वारेन बफेट: १५५ खर्ब रुपैयाँका मालिक, बिताउँछन् यति साधारण जीवन
तस्बिर : एआई

एजेन्सी । वारेन बफेट अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सन् २०२३ को सूचीअनुसार विश्वका पाँचौं धनी व्यक्ति हुन् । अमेरिकी डलरमा उनको कुल सम्पत्ति ११६.७ बिलियन अर्थात् १५५ खर्ब रुपैयाँभन्दा बढी छ ।

सेयर बजारको सानो लगानीबाट साम्राज्य विस्तार गरेका बफेट बर्कसायर ह्याथवेका सीईओ हुन् । बफेट लगानी, बिजनेस र सेयर बजार क्षेत्रमा विश्वप्रसिद्ध नाम हो । उनी ओराकल अफ ओमाहा भनेर पनि चिनिन्छन् । ११ वर्षको उमेरदेखि लगानी गर्न सुरु गरेका उनका अहिलेसम्म थुप्रै कम्पनी अस्तित्वमा छन् ।

सेयर बजारका लगानीकर्तामध्ये धेरैजसोले बफेटलाई चिन्छन् । उनका प्रगतिका कथा पढेर र टिप्स अनुशरण गरेर सेयरमा लगानी गर्नेहरू थुप्रै छन् । तर, उनै बफेटको जीवन शैलीका बारेमा भने कमैलाई मात्र जानकारी हुनसक्छ । कस्तो छ त वारेन बफेटको जीवन शैली ?

१. घर ६५ वर्ष पुरानो

सामान्यत: अर्बपतिहरू हवेलीहरुमा बस्छन् भन्ने ठानिन्छ । तर बफेट नेबको ओमाहामा रहेको रहेको एउटै निवासमा बस्छन्, जुन उनले सन् १९५८ मा ३१ हजार ५ सय डलरमा किनेका थिए । सन् २०२० मा उनको घरको मूल्य लगभग २ लाख ८५ हजार डलर पुगेको छ ।

मानिसलाई उनी आफूले खर्च गर्न सक्नेभन्दा निकै कम मूल्यको घर किन्न सुझाव दिन्छन् । यसमा उनको आफ्नै तर्क छ । उनका अनुसार घरमा अनावश्यक खर्च गर्नुको साटो बचत गर्ने र सेवानिवृत्तका लागि राख्ने या त बिदा मनाउन खर्च गर्नु राम्रो हुन्छ ।

२. सस्तो ब्रेकफास्ट

हामीलाई अर्बपतिहरु असाधारण रेस्टुरेन्टमा खान्छन्, खाना, खाजामा एग्स बेनेडिक्टदेखि महँगा मिमोसाहरु लिन्छन्, उनीहरुको व्यक्तिगत सेफ हुन्छ, जसले जे चाह्यो त्यही उपलब्ध गराइदिन्छ भन्ने लाग्न सक्छ ।

तर, बफेटको हकमा यो गलत सावित हुन्छ । उनी आफ्नै घरमा तयार पारिएको फ्रेन्च टोस्ट खाजाका रुपमा लिन्छन् । बाहिर निस्किँदा पनि खाजाका लागि म्याकडोनाल्डमा पाँच मिनेटको समयमात्र बिताउँछन् ।

३. सस्तो कार

अर्बपतिहरुमात्र होइन, सामान्य कम्पनीका सीईओहरु पनि मिलियन डलरको कारमा घुम्छन् तर बफेट धेरै सामान्य हिसाबले सस्तो कारमा चढ्छन् । बफेटले असिनाले क्षतिग्रस्त कार किनेर मर्मतसम्भार गरेर चलाएको कुरा विभिन्न फोरममा उनकै छोरी सुसीले भनेकी छन् ।

बफेट स्वयंले सन् २०१४ मा फोर्ब्ससँगको अन्तर्वार्तामा भनेका थिए, ‘सत्य के हो भने म वर्षमा करिब ३५ सय माइलमात्र ड्राइभ गर्छु, त्यसकारण म नयाँ कार कहिलेकाहीँ मात्र किन्छु ।’

कारको मूल्यह्रास छिटो हुने भएकाले नयाँभन्दा पनि पुरानो कार किन्न उनले अरुलाई पनि सुझाव दिने गरेका छन् ।

४. सामान्य कुरामा आनन्द

प्राय: अर्बपतिहरु शौखिन हुन्छन् । तर, प्रसिद्ध सीईओ, लगानीकर्ता र उद्यमीहरूको तुलनामा बफेटका शौखहरू धेरै सस्ता लाग्छन् । उनी हाउस पुल खेल्दा रमाइलो मान्छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले पुल खेलिरहेको बेला नजिकैबाट कुनै नग्न युवती हिँडिन् भने म उनलाई पनि देख्दिन ।’

उनले व्यावसायिक जीवनबाट केही फुर्सदको समय निकाले भने वाद्यवादन बजाएर र गीत गाएर बसिदिन्छन् । उनी त्यसमै आनन्द मानिरहेका हुन्छन् । बफेटले वाद्यवादन बजाउँदै गरेको भिडियो सन् २०१६ मा भाइरल पनि भएको थियो ।

५. साथीलाई राम्रो तर सामान्य व्यवहार

अर्बपतिहरु बिल गेट्स र वारेन बफेटबीचको सम्बन्ध धेरै पुरानो हो । बफेटको ९०औं जन्मदिनको सम्मानमा माइक्रोसफ्ट म्याग्नेट गेट्सले लेखेका थिए, ‘मैले वारेनबाट सिकेको सबै चीजहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा मित्रता के हो भन्ने हुनसक्छ । मैले वारेनको बारेमा गर्ने महसुस नै एउटा व्यक्तिलाई मैले गर्ने प्रशंसा र मन पराउने कुराको उत्तम उदाहरण हो । जन्मदिनको शुभकामना मित्र ।’

तर, गेट्सका महँगा र गहकिला शब्दसहितको शुभेक्षालाई बफेटले सामान्य रुपमा लिए । अरु सन्दर्भमा पनि त्यस्तै हुन्थ्यो । गेट्सले जति प्रशंसा गरे पनि बफेटले त्यसलाई अत्यन्तै साधारण हिसाबले लिन्थे ।

६. नोकिया फ्लिप फोनको प्रयोग

बफेटले स्मार्टफोन अस्तित्वमा आएको लामो समयसम्म पनि नोकिया फ्लिप फोन प्रयोग गरिरहेका थिए । उनी नयाँ स्मार्टफोन या आईफोनका लागि पैसा खर्च गर्न तयार थिएनन् । नोकिया बजारबाट हराउन थालेपछि केही वर्षअघि मात्र उनले नयाँ आईफोन खरिद गरेका हुन् ।

७. सस्ता तर बलिया सुट

अर्बपति बफेट महँगा र चलेका टेलर्समा सिलाएका सुट लगाउँदैनन् । यसको सट्टा उनी विशेष रूपमा चिनियाँ सिलाइ उद्यमी म्याडम लीले बनाएका सुट लगाउँछन् । सन् २००७ मा भेटेयता उनी लीले सिलाएका सुट मन पराउन थालेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा बफेटले म्याडम लीले सिलाएको सुट लगाउन थालेपछि धेरै प्रशंसा पाउन थालेको बताएका छन् । ब्रान्डका लागि बेकारमा बढी पैसा तिर्नुभन्दा लामो समय टिक्ने कपडा किन्न उनले सुझाव दिने गरेका छन् ।

८. छुट लिन कुपन प्रयोग

अर्बपतिहरु पनि सानो‑सानो पैसा बचत गर्ने अवसरहरु खोजिरहेका हुन्छन् । अरुले गरे पनि नगरे पनि बफेट भने पैसा बचत गर्न कुपनहरुको प्रयोग गरेर फास्ट फुड या खानाको भुक्तानी गर्छन् ।

म्याकडोनाल्डको खाना निकै सस्तो भए पनि अनलाइनमा पाइने कुपनहरु खोजेर बफेटले छुटको अवसरबाट धेरै पटक लाभ लिएका छन् ।

९. एउटै कार्यालय भवनमा ५० वर्ष

बफेटले एउटै कार्यालय भवनमा ५० वर्षभन्दा बढी समय काम गरेका छन् । सन् १९६० को दशकमा बर्कसायर ह्याथवेमा आबद्ध भएदेखि नै उनी त्यही कार्यालय भवनमा रहँदै आएका छन् ।

बफेट कुनै पनि कुरा बिग्रिएकै छैन भने ठिक गर्ने चेष्टा पनि गर्नु हुँदैन भन्ने मान्यता राख्छन् । उनले कार्यालयमा सधैं आफूसहित २५ जना कर्मचारी रहेको, समिति या जनसम्पर्क विभाग नरहेको, कुनै लगानीकर्तासँग सम्बन्ध नरहेको र कुनै सामान्य सल्लाह पनि नभएकाले परिवर्तन या नयाँ ठाउँ आवश्यक नै नपरेको तर्क गर्ने गरेका छन् ।

१०. पैसा बचत गर्न अनेक उपाय

बफेट पैसा बचत गर्न अनेक उपाय लगाउँछन् । उदाहरणका लागि बफेटले पहिलो बच्चा जन्मेपछि कोक्रोमा पैसा खर्च गर्नुको सट्टा एउटा ड्रेसर ड्रयर (दराज)लाई बच्चाको लागि सुत्ने ठाउँको रुपमा परिणत गरेका थिए । जब दोस्रो बच्चा जन्मियो, उनले एउटा कोक्रो किन्नुको सट्टा उधारो लिएका थिए ।

बच्चालाई ड्रेसर ड्रयरमा सुताउनु अलि बढी नै असाधारण लाग्छ तर यसलाई पैसा बचत गर्न बफेटले अपनाएको एउटा फरक उदाहरणका रुपमा लिने गरिन्छ ।

११. भौतिक चिजभन्दा सम्बन्धलाई महत्व

बफेट भौतिक चिजलाई भन्दा सम्बन्धलाई महत्व दिन्छन् । बफेटले मितव्ययी जीवन बिताउनुको उद्देश्यका बारेमा धेरै ठाउँमा प्रष्टीकरण दिएका छन् ।

उनी भन्छन्‑ तपाईं स्वास्थ्य किन्न सक्नु हुन्न र प्रेम किन्न सक्नु हुन्न । म संसारको सबैभन्दा सुन्दर गल्फ कोर्समा भन्दा मलाई मनपर्ने मानिसहरुसँग गल्फ खेल्न चाहन्छु । मलाई कारहरूमा रुचि छैन र मेरो लक्ष्य मानिसहरुलाई ईर्ष्यालु बनाउनु होइन ।

उनकी छोरी सुसीले पनि एक अन्तर्वार्तामा भनेकी छिन्‑ यो सत्य हो कि बुवालाई पैसाको गुच्छाको वास्ता छैन, उहाँ परिवारलाई जोड दिनुहुन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्