• Menu

फेरि उकालो लाग्यो सेयर बजार, कारोबार रकम पनि उच्च, लगानीकर्ताको मनोबल बढेको हो ?

नेपाल प्रफिट

२०८० मंसिर २६, २१:५४

फेरि उकालो लाग्यो सेयर बजार, कारोबार रकम पनि उच्च, लगानीकर्ताको मनोबल बढेको हो ?

काठमाडौं । आइतबारको १११ अंकको वृद्धिबाट लाभ लिन अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेपछि सोमबार बिक्री चाप बढेको बजारमा मंगलबार पुन: हरियाली छाएको छ ।

लगानीकर्ताले नाफा बुक गर्दा सोमबार बजार १५.४ अंकले ओरालो लागेको थियो । तर, मंगलबार पुन: सेयर खरिद गर्ने बढेपछि बजार उकालो लागेको छ ।

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लगानीकर्ताले सेयर धितो राखेर लिने ५० लाखभन्दा बढी कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ ।

यसले बैंकहरुको कर्जा दिने क्षमतामा बढाएको छ । कर्जामा जोखिम भार बढी हुँदा बैंकले ब्याज जोखिम भारित सम्पत्ति बढी छुट्याउनुपर्ने हुँदा बैंकले ब्याज पनि बढी लिन्छ । जोखिम भार कम हुँदा जोखिम भारित सम्पत्ति कम छुट्याउनुपर्ने भएकाले ब्याज कम पर्छ । फलत: जोखिम भार घट्दा बैंक र ऋणी दुवैलाई फाइदा हुन्छ ।

अर्को बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै ल्याएका छन् । अहिले बैंकहरुमा तरलता पनि बढेको छ । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत नीतिगत दर घटाएको थप ब्याजदर घट्ने आधार तयार भएको छ । जोखिम भारका साथै ब्याजदरको घट्दो ट्रेन्डका कारण सेयर बजारमा प्रवेश गर्न लगानीकर्ताको मनोबल बढेको हो ।

कारोबार रकममा आएको सुधारले पनि लगानीकर्ताको उत्साहलाई स्पष्ट गरेको छ । सोमबार ४ अर्ब ७८ करोडको कारोबार भएको बजारमा मंगलबार पनि ४ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार बजार मापन गर्ने सूचक ३६.८६ अंकले बढेर १९८५.४४ अंकमा उक्लिएको छ । बजारमा उछाल आउँदा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

बैंकिङ समूहको उपसूचक २.५८, विकास बैंक ६५.८८, वित्त ५५.३९, होटल २२८.८१, होटल ६९.९०, जीवन बीमा ३३३.३६, माइक्रोफाइनान्स ५३.६२, निर्जीबन बीमा २५६.९६, ट्रेडिङ समूहको ६०.२२, अन्य समूहको उपसूचक ३८.९६ अंकले बढेको छ ।

मंगलबार बोटलर्स नेपाल (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्स एन्ड आयलको सेयर मूल्य सकारात्मक सर्किट लाग्यो भने अन्य ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै आज शिवम् सिमेन्टको सर्वाधिक १८ करोड लाख, सोनापुर मिनरल्सको १५ करोड १० लाख, रियायबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३५ लाख, माउन्टेन इनर्जीको ११ करोड ९७ लाख र सोल्टी होटलको ११ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो ।