काठमाडौं । सेयर बजार परिसूचक नेप्सेको कारोबार सकारात्मक सर्किट लागेर ९ मिनेटमै बन्द हुँदा २ वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । लगातार सर्किट लागेर करिब डेढ घन्टामा बजार बन्द भयो, २२७ कम्पनीका लगानीकर्ताले कमाए तर कालिका लघुवित्त र उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।
आइतबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने करिब ३० कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्त उपसमूह पनि ५.६५ प्रतिशतले उकालो लागेको छ । तर, सोही उपसमूहका कालिका र उपकार लघुवित्तको सेयर मूल्य भने घटेको हो ।
दोस्रो बजारमा उपकारको ३ लाख ७१ हजार ५१८ कित्ता र कालिकाको १३ लाख २० हजार ९९८ कित्ता सेयर सूचीकृत छ । आज उपकारको अन्तिम कारोबार मूल्य ९५० रुपैयाँ प्रतिकित्ता रह्यो भने कालिकाको ५७९.७ रुपैयाँ रह्यो ।
उपकारले २०७८/७९ नाफाबाट लगानीकर्तालाई ६५ प्रतिशत लाभांश बाँडेको थियो । कम्पनीले गत वर्षको नाफाबाट भने लगानीकर्ताको हात खाली बनाएको छ । गत आवमा कम्पनीले २ करोड ३६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, कालिकाले आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई २० प्रतिशत लाभांश दिएको थियो । कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छैन । गत आवमा कम्पनीले ४ करोड ६२ लाख ४० हजार खुद नाफा कमाएको छ ।
लगातार तेस्रो सर्किट लागेर कारोबार बन्द हुँदा नेप्से परिसूचक १११.२ अंकले बढेर १९६३.९८ अंकमा पुगेको छ । आइतबार २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, शुभम पावर र कालिञ्चोक दर्शन छन् । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।