• Menu

साताभरमा तीन दिन घट्यो, दुई दिन बढ्यो सेयर बजार

नेपाल प्रफिट

२०८० मंसिर २२, शुक्रबार २१:२९

साताभरमा तीन दिन घट्यो, दुई दिन बढ्यो सेयर बजार

काठमाडौं । साताभरमा सेयर बजार तीन दिन घटेको छ भने दुई दिन बढेको छ । आइतबार ७, सोमबार ४ र मंगलबार १० अंकले घटेको बजार बुधबार ३ र बिहीबार १० अंकले बढेको हो ।

गत साता १८५८ अंकमा रहेर बन्द भएको सेयर बजार यो साताभरमा ६ अंकले घटेर १८५२ अंकमा झरेको छ । यो साताको पछिल्ला दुई दिन बजार सकारात्मक भएकाले आगामी साता पनि वृद्धिले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले पनि लगानीकर्ताको मनोबल बढ्नसक्ने देखिन्छ । सेयर कर्जाको १५ र २० करोडको सीमा नहटाए पनि राष्ट्र बैंकले जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

साथै, राष्ट्र बैंकले नीतिगत दर घटाएकाले आगामी दिनमा ब्याजदर घट्ने आधार तयार भएको हुँदा लगानीकर्ता थप आशावादी बन्नसक्ने अनुमान गर्न सकिन्छ ।

राष्ट्र बैंकले समीक्षामार्फत बैंकदर ७.५ बाट ७ प्रतिशतमा झारेको छ भने नीतिगत दर ६.५ बाट ५.५ प्रतिशतमा झारेको छ । यसले गर्दा ब्याजदर थप घटाउन दबाब पुग्नेछ ।

गत साता ५ दिन खुलेको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँबराबरको कारोबार भयो भने यो साता पनि ५ दिन नै खुलेको बजारमा ७ अर्ब ६२ करोड रुपैयाँबराबरको कारोबार भयो ।

यो साता जीवन र निर्जीवन बिमा दुवै समूह सकारात्मक रहे । दुई समूह २.२ प्रतिशतभन्दा धेरैले बढेका छन् । गत साता होटल तथा पर्यटन समूह बढेको थियो । गत साता २.७२ प्रतिशतले बढेको होटल तथा पर्यटन समूह यो साता २.१ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह यो साता पनि बढ्न सकेन । बैंकिङ समूह गत साता १.१९ प्रतिशत घटेकोमा यो साता पनि ०.८६ प्रतिशत घटेको छ । बैंक तथा वित्तीय संस्थाको बढ्दो खराब कर्जाको प्रतिबिम्ब सेयर बजारमा देखिएको छ ।

बिमा क्षेत्रमा लगानीको आकर्षण देखिनुको मुख्य कारण यी कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी रहनु हो । पुँजी पुर्‍याउन लाभांशमा धेरैले बोनस सेयर दिनुपर्ने अवस्था रहेकाले पनि बिमा समूहमा लगानीकर्ताको आकर्षण बढेको हो । बिमा कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण पनि राम्रो आएको छ ।

यो साता सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीको सेयर मूल्य १८ प्रतिशत घटेको छ ।