• Menu

लुम्बिनी प्रदेशका मुख्यमन्त्री भन्छन्‑ बिमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ

नेपाल प्रफिट

२०८० मंसिर १९, मंगलबार २१:१६

लुम्बिनी प्रदेशका मुख्यमन्त्री भन्छन्‑ बिमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । बिमाको विश्वसनीयता बढेमात्रै यसको महत्व र आवश्यकता बढ्ने हुँदा बिमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने धारणा उनले राखेका हुन् ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले कोरोनापछि बिमा कम्पनीप्रतिको विश्वास गुम्दै गएको बताए ।

अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले आवश्यकताअनुसार बिमाको नीति, नियम बनाउने मुख्यमन्त्री चौधरीको भनाइ छ । ‘विश्वमा बिमा राम्रो छ,’ उनले भने, ‘बिमा सुविधा प्राथमिकतामा पनि पर्छ तर नेपालमा विश्वसनीयता कम छ, यो बढाउनु जरुरी छ ।’

बिमाप्रति विश्वास बढाउन बिमा कम्पनीहरुको गलत कार्यको नियमन प्राधिकरणले गर्नुपर्ने उनले बताए ।

कार्यक्रमका सहभागीले बिमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकाले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका छन् । उनीहरुले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासोसमेत गरे ।

त्यसैगरी कृषिमा बाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनुपर्ने र जीवन बिमा भुक्तानीमा छिटोछरितो गरिनुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्यमन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याललगायतले कार्यक्रममा धारणा राखेका थिए । बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललगायतले उठेका विषयवस्तुमा प्रस्टीकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्