न्युयोर्क । तस्करहरुले चोरी गरेर नेपालबाट अमेरिका पुर्याएका चारवटा मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।
न्युयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत अमेरिकाले नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरेको हो ।
न्युयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारीहरु, होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेस, न्युयोर्क र गृह मन्त्रालयका अधिकारीले कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरेका छन् ।
दुईवटा भैरव मास्क तथा एउटा शिव पार्वती (उमा महेश्वर) र एउटा दुर्गाको ढुंगाको मूर्ति फिर्ता गरिएका छन् । ती मूर्ति १६औं र १७औं शताब्दीका भएको पाइएको छ ।
तस्करी गरी अमेरिका पुर्याइएका नेपालका पुरातात्विक वस्तु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास न्युयोर्कले अनुरोध गरेको थियो ।
जिल्ला न्यायाधिवक्ता ब्रागले आफूहरु पुरातात्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको बताए । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुको खोजीका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महावाणिज्य दूतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ । फिर्ता भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने दूतावासले जनाएको छ ।