काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा २० अर्ब ७३ करोड २२ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ बैंकले खुद नाफा बढाउँदा कृषि विकास बैंक भने घाटामा छ । कृषि विकास बैंक कात्तिक मसान्तसम्म २७ करोड ८८ लाख ४० हजार रुपैयाँ नोक्सानमा छ ।
नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, हिमालयन, एनआईसी एशिया, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट र प्रभु बैंकले चार महिनामै अर्बभन्दा बढी खुद नाफा गरेका छन् । बाँकी ९ बैंकको नाफा अर्बभन्दा कम छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले ग्लोबल आइएमई बैंकलाई नाफा आर्जनमा उछिनेको हो ।
नबिल बैंकले २ अर्ब १६ करोड ९६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा रहेको ग्लोबल आइएमईले १ अर्ब ९४ करोड ६९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।
तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड ६८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै प्राइम बैंकले १ अर्ब ५३ करोड ४४ लाख ६० हजार नाफा आर्जन गरेको छ ।
राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख २० हजार, एनआईसी एशियाले १ अर्ब ३७ करोड ७६ लाख ६० हजार, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख ६० हजार, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख ४० हजार, एभरेष्ट बैंकले १ अर्ब ८ करोड र प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकले ८८ करोड ८० लाख ९० हजार, सानिमा बैंकले ७७ करोड ७८ लाख ३० हजार, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख २० हजार, नेपाल बैंकले ६६ करोड ८१ लाख ६० हजार र नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी, सिटिजन्स बैंकले ५८ करोड २४ लाख २० हजार, लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख ९० हजार र सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।