• Menu

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

नेपाल प्रफिट

२०८० पुस १, २१:४४

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

पर्सा । बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।

आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेसनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसी सिमेन्टले उत्पादन बन्द गरेपछि मजदुर र कर्मचारी बेरोजगार भएका हुन् ।

कोरिडोमा सञ्चालित १२ उद्योगमध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले बताए ।

बैंकहरुको उच्च ब्याज, पूर्वाधार निर्माणमा कमी र सरकारले निर्माण व्यवसायीको भुक्तानी नगरेका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग बन्द भएका हुन्,’ उनले भने ।

भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क उपलब्ध गराउँदै आएको खरानीमा सरकारले प्रतिटन एक हजार रुपैयाँ कर लिँदै आएको उनले बताए । यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनले स्पष्ट पारे ।

नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएको भारतीय गुणस्तर चिह्न बीआईएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने र यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ ।