पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्नु नपर्ने बताएका छन् ।
‘दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको हो,’ नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनमा उनले भने, ‘२०८४ सालको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन ।’
थापाले गठबन्धनको अभ्यास नै संविधानबाट हटाउनुपर्ने तर्क गरे । उनले चुनावअघि साना‑ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने उनको तर्क छ ।
‘गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने स्थिति आएको छ,’ थापाले भने, ‘बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।’ थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको बताए । कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनको आरोप छ ।
अब एक वर्ष दाहाल नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके कांग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।
प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाको भनाइ छ । ‘अब एमालेलाई नेतृत्वमा पुर्याउन हुँदैन,’ महामन्त्री थापाले भने, ‘केपी ओली नेतृत्वमा पुगे पुन: संसद् विघटन गर्छन् ।’
महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले सुन तस्करी रोक्ने अवस्थामा ल्याउनुपर्ने बताए । समिति बनाई त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा उनको जोड छ ।