• Menu

कोदो र फापर फलाउने किसानलाई अनुदान

नेपाल प्रफिट

२०८० मंसिर ३०, शनिबार ०७:२२

कोदो र फापर फलाउने किसानलाई अनुदान

मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको हो ।

पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर नाफा आर्जन गर्न किसानलाई आग्रह गरे ।

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेको र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए ।

यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनको विश्वास छ । अनुदान पाएका किसानबाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गाउँपालिकाले पालिकाभित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ५५ र फापरको प्रतिकिलो एक सय रुपैयाँ निर्धारण गरिएको छ ।