रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बहुपक्षीय विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले नयाँ परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगरपालिकाले प्रस्ताव गरेको योजनामा एडीबीले सघाउने जानकारी दिएको हो ।
‘हामीले प्रस्ताव गरेका आयोजनामा एडीबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ,’ नगर प्रमुख इश्तियाक अहमद खाँले भने, ‘अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।’
एडीबीको ऋण सहयोगमा नगरपालिका क्षेत्रका सडकमा पैदलयात्री मार्ग, पानीको निकासका निम्ति नाला, साइकल चलाउन बेग्लै बाटो र डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । त्यस्तै साढे २६ किलोमिटर सडक कालोपत्रको योजना छ ।
मंसिर २८ गते एडीबीले नेपालको दिगो पर्यटन प्रवर्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापन सुधार परियोजना कार्यान्वयन गर्न १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो ।
पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त सहायता घोषणा भएको थियो ।