• Menu

नारायणी अस्पतालमा एमआरआई सेवा पुनः सञ्चालनमा

नेपाल प्रफिट

२०८१ भदौ ३०, १५:२०

नारायणी अस्पतालमा एमआरआई सेवा पुनः सञ्चालनमा

पर्सा । नारायणी अस्पताल वीरगन्जमा ५ महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आइतबारदेखि पुनःसञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि ५ महिनादेखि सेवा अवरुद्ध भएको थियो ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट मेसु डा एनामुल हकले अस्पतालमा आइतबारदेखि एमआरआई सेवा पुनःसञ्चालनमा ल्याइएको बताए । ‘यसअघि भुक्तानी विवादका कारण मेसिनको सफ्टवेयर अपडेट नहुँदा सेवा प्रभावित हुँदै आइरहेको थियो,’ उनले भने, ‘भुक्तानी विवाद समाधानगरी नियमित सेवा सञ्चालन गरेका छौँ ।’

संघीय सरकार मातहतको स्वास्थ्य सेवा विभागले गत कात्तिकमा बोलपत्रगरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीमार्फत चीनबाट ३० करोडमा उक्त मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको थियो ।

विभागले आपूर्तिकर्ताले मेसिन आयात गर्दा लागेको ५ प्रतिशत कर नतिरेको भन्दै भुक्तानी रोकेको थियो । पछिल्लो समय प्रालीले ५ प्रतिशत कर भुक्तानी गरेसँगै विभागले पनि बाँकी रहेको २० प्रतिशत बक्यौता रकम भुक्तानी गरेपछि नियमित एमआरआई मेसिन सञ्चालनमा ल्याइएको मेसु डा. हकले उल्लेख गरे । नियमित सेवा सञ्चालनमा आएसँगै नागरिकले सस्तो र सहज सुविधा पाउने उनको भनाइ छ ।