• Menu

महोत्तरीमा विद्युत नहुँदा दुई अर्ब लगानीको पेपर इण्डष्ट्रिज कम्पनीमा उत्पादन सुरु हुन सकेन

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार १६:२३


महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले विद्युतको अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन ।

आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा दुई अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए ।

२०७८ सालदेखि निर्माण थालिएको यस पेपर मिलले गत जेठ १ देखि नै उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो । त्यसका लागि मिललमा करोडौँ मूल्यका ठूलाठूला मेसिन, औजार पनि जडान गरिसकिएको छ । विद्युत नहुँदा अहिलेसम्म उत्पादन सुरु हुन नसकेको भण्डारीले बताए ।

वैशाखको अन्तिममै मिलसम्म विद्युत पुर्‍याइसक्नेगरी विद्युत प्राधिकरणसँग ७५ प्रतिशत मिलको लगानी २५ प्रतिशत विद्युत प्राधिकरणको लगानीमा सम्झौता भएर मिलले विद्युत जडानका लागि एक करोड ४१ लाख ५९ हजार २ सय ७० विद्युतका  ठेकेदार कम्पनी प्रिन्स कन्स्ट्रक्सनलाई बुझाइसकेको भए पनि आजसम्म मिलमा विद्युत जडान हुन नसकेको उनले बताए ।

पेपर मिलमा १२ किमी टाढा रहेको पूर्व–पश्चिम राजमार्गस्थित विद्युत स्टेशनबाट लाइन ल्याउनुपर्नेमा छ किलोमिटरसम्म लाइन आइसकेको तर बाँकीको छ किलोमिटरसम्म ल्याउनमा स्थानीयले अवरोध खडा गरेपछि पेपर मिलसम्म लाइन आउन नसकेको मिलका व्यवस्थापन निर्देशक गोविन्द सर्राफले बताए ।

उनले यस मिलमा स्टेशनदेखि लाइन ल्याउँदा गौशाला रोड, सशस्त्र क्याम्प, सुर्ती विकास चोक हुँदै इँटाटारसम्म आउनुपर्ने हो । गौशाला–१ मै रहेको रामनगर गाउँका बासिन्दाले मापदण्डबमोजिम विद्युतका  खम्बा गाड्न नदिएका कारण लाइन अहिलेसम्म आउन नसकेको उनले जनाए ।

रामनगरका स्थानीय बासिन्दाले ३३ हजार केभिएको लाइन आफ्नो गाउँबस्तीबाट लगिएमा बस्ती जोखिमका पर्ने, कति घरपरिवारको घरभित्रैसम्म खम्बा गाड्नुपर्दा उठिबास हुने, आगलागी र करेन्ट लागेर मृत्युजस्ता दुर्घटना बढ्ने, विद्युतको विकीरणले गर्भवतीलाई असर गर्ने र अपाङ्ग बालबालिका जन्मिनेजस्ता कारण सिर्जना गर्ने भन्दै बस्तीबाट लाइन जान नदिएपछि पेपर मिल सञ्चालनमा आउन सकेको छैन ।

स्थानीय बासिन्दाले गठन गरेको संघर्ष समितिका अध्यक्ष नरेश महतोको नेतृत्वमा पटक पटक स्थानीयले आन्दोलन, चक्काजामजस्ता कार्यक्रम गरेर पेपर मिलसम्म लाइन जानमा रोक लगाउँदै आएका छन् । यता अर्बौंको लगानी लगाएर पनि पेपर उत्पादन सुरु गर्न नसकेको पेपर मिलले सहमति र सहकार्यका लागि नगरपालिका, विद्युत प्राधिकरण र स्थानीय बासिन्दासित विभिन्न प्रयास गरे पनि ठोस निर्णयमा पुग्न नसक्दा दिनदिनै लाखौँको क्षति भइरहेको जनाइएको छ ।