• Menu

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार ११:१८

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए ।

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युबमा भिडियो हेरेकै आधारमा ड्रागन फ्रुट लगाएका थिए । १५ रोपनी जग्गामा २० लाख लगानी गरेर थालेको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय किलो उत्पादन भइसकेको उनले जानकारी दिए ।

उनले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो रहेको अनुभव सुनाए । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ ।

‘चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकिलो चार सयमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ,’ उनले भने ।

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताए । ‘एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ,’ उनले भने ।

उनका अनुसार जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मंसिरसम्म टिप्न पाइन्छ । उनले लगाएको रातो ड्रागन हो ।