• Menu

बिहीबारदेखि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट पुनः उडान हुने

नेपाल प्रफिट

२०८१ भदौ २७, १५:५१

बिहीबारदेखि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट पुनः उडान हुने

इलाम । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा बिहीबारदेखि पुन: उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै बिहिबार बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौँबाट इलामका लागि ६ जना यात्रु आएको र काठमाडौँका लागि ८ जना यात्रु लिएर गएको छ ।

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ ।  अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ ।

बर्खा लाखेसँगै खराब मौसमका कारण साँढे ३ महिनादेखि नभएको उडान सुरुभएसँगै यात्रुलाई सहज भएको छ । दसौँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौँ उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको छ ।

यहाँबाट बिचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।  जेठ १३ देखि हुन नसकेको उडान सुरु भएको हो । इलामबाट हप्ताको दुई दिन अर्थात आइतबार र बिहीबार उडान हुँदै आएको थियो ।

नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहिबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडौँ लगायतको यात्रमा सहज हुने छ ।

शनिबार पनि बजार खुल्ने

यसैबीच अब शनिबार पनि बजार खुल्ने भएको छ । हप्ताको एक दिन अर्थात शनिबार बन्द गरिँदै आएको इलाम बजारका पसल अब सातामा सातै दिन खुल्ने भएका हुन् । इलाम बजारसँगै देउमाई नगरपालिकाको मंगलबारे बजारका पसलसमेत अब शनिबार खुल्ने भएका हुन् ।

महान चाडपर्व नजिकिएसँगै शनिबार बन्द गरिँदै आएका पसल खुल्ने भएका हुन् । इलाम उद्योग वाणिज्य संघले दसैँ, तिहार, नेपाल संवत् र छठको अवसरमा भदौ २९ देखि सबै पसल खोल्न व्यवसायीमा सूचना जारी गरेको छ ।

दैनिक उपभोग्य वस्तु खरिदमा गाउँबाट आएका उपभोक्तालाई सहज होस् भनेर शनिबार पसल खोल्न व्यापारीलाई आग्रह गरिएको इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए ।

उनका अनुसार कात्तिक २३ सम्मका लागि शनिबार पनि सबै पसल खोल्न आग्रह गरिएको छ । पसलमा काम गर्ने कामदारलाई बिदा दिन र सातामा एक दिन भए पनि व्यापारीले पसल बाहेक बिदा मनाउन साथै अन्य काम गर्नका लागि हरेक शनिबार पसल बन्द गरिँदै आएको छ । इलाम बजारसहित बिब्ल्याँटे, मंगलबारे, फिक्कल प्रमुख व्यापारिक केन्द्र मानिन्छन् । जिल्लामा सातै दिन विभिन्न स्थानमा हटियासमेत लाग्ने गरेको छ ।