• Menu

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

नेपाल प्रफिट

२०८१ भदौ २७, १४:०६

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार भएको विश्वविद्यालयको आठौँ साधारणसभामा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्त प्रयास केन्द्रित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे ।

‘नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुक अस्तित्वमै नआएका बेला हाम्रा पुर्खा ज्ञान-विज्ञानको शास्त्रार्थ गर्दै थिए,’ उनले भने, ‘हाम्रा असंगठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ । त्यस अर्थमा यस भूभागले विश्वलाई प्रेरणा दिएको छ ।’

बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी थिए ।