झापा । गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ५८ लाख ४५ हजार ८ सय ५५ राजस्व संकलन गरेको छ । आर्थिक २०७९/८० को तुलनामा यो २०२.३९ प्रतिशतले बढी हो ।
उक्त कार्यालयका प्रमुख सुनिलकुमार यादवका अनुसार आव २०७९/८० मा २८ लाख ८८ हजार ३ सय ५३ राजस्व संकलन भएको थियो । यसैगरी, आव २०७८/७९ मा १६ लाख ६२ हजार २ सय १७ राजस्व संकलन भएको उनले बताए ।
विगतका वर्षहरुभन्दा नाप्नेतौलने यन्त्रको नयाँ अनुमतिपत्र लिनेको संख्यामा वृद्धि, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरुको संख्या बढ्नु तथा जरिवाना तिर्नेहरुको संख्या बढ्दा राजस्व बढेको कार्यालय प्रमुख यादवले बताए ।
उनका अनुसार आव २०८०/८१ मा नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोगका लागि एक हजार ५ सय २६ नयाँ अनुमतिपत्र प्रदान गरिएको, २२ वटाको इजाजतपत्र नवीकरण, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरुको संख्या २ हजार ९ सय ८ थियो ।
साबिक मेची अञ्चलका ४ जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको गुणस्तर तथा नापतौल कार्यालयले गत आवमा २ हजार ६ सय ३५ थप शुल्क तथा जरिवाना तिर्ने व्यवसायी रहेका जनाएको छ ।
कार्यालयले ३१ पटकमा २ सय ३३ वटा फर्मको एकल अनुगमन गर्दा २८ पटकमा २ सय ७२ वटा फर्मको संयुक्त अनुगमन भएको थियो । कार्यालयले एक वर्षमा पेट्रोलिय पदार्थ वितरण गर्ने ६० पम्पको जाँच तथा २ सय ८ पेट्रोलिय पम्पको नोजल जाँच गरेको थियो ।