• Menu

मकवानपुरमा उद्योग खुल्नेभन्दा बन्द हुने क्रम उच्च, गत वर्षमात्रै ६०४ उद्योग बन्द

नेपाल प्रफिट

२०८१ भदौ २७, ०९:५८

मकवानपुरमा उद्योग खुल्नेभन्दा बन्द हुने क्रम उच्च, गत वर्षमात्रै ६०४ उद्योग बन्द

मकवानपुर । आर्थिक मन्दीलगायतका कारणले मकवानपुरमा ठूलो संख्यामा उद्योग व्यवसाय प्रभावित भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा मात्रै ६०४ वटा उद्योग बन्द भएका छन् ।

मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।

मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । गत आवमा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ गरी ७०१ नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले जानकारी दिए । आव २०७९/८९ मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए ।

आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार १०८ वटा नवीकरण र ४९८ वटाको पुँजी वृद्धि गरिएको थियो ।

सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, ८५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार ४२२ वटा उद्योगको नवीकरण भएको छ ।

नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा तीन करोड २२ लाख ४९ हजार ९१० रुपैयाँ राजस्व संकलन भएको प्रमुख भुसालले जानकारी दिए ।