कैलाली । कालिकोटकी हंशिला बम हिजोआज स्याउ बेच्न व्यस्त छिन् । माइतीघर जुम्ला भएकी हंशिला १३ वर्षदेखि मौसमअनुसारका फलफूलको व्यापार गर्दै आएकी छन् । व्यापार सुरु गरेपछि उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छन् भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।
‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थिति मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो,’ उनी भन्छिन्, ‘मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।’
यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएकी छन् । मागका आधारमा देशका अन्य जिल्लामा पनि स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेको उनले बताइन् ।
जुम्लामा उत्पादित स्याउ प्रतिकिलो ७० रुपैयाँमा खरिद गरेर तराई पुर्याएपछि प्रतिकिलो एक सयदेखि एक सय २० रुपैयाँसम्ममा बिक्री गर्ने गरेकी छन् । ‘एक ट्रक स्याउ ल्याउन एक लाखभन्दा बढी खर्च हुन्छ,’ हंशिला भन्छिन्, ‘जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ ।’
उनले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायतका उत्पादन पनि बेच्ने गरेकी छन् । उनलाई भाइ र बहिनीले पनि साथ दिएका छन् । हंशिलामात्र होइन, कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरेका छन् । चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्ने गर्छन् ।
‘चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दिनचर्या बनेको छ,’ उनी भन्छन्, ‘मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।’ उनले सडक सञ्जाल नभएका कारण बगैँचामै स्याउ कुहिने गरेको बताए ।
कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजारभन्दा बढी बोट स्याउ रोपेका छन् । ‘मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पुर्याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन,’ उनी भन्छन्, ‘कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यले अझै बुझेको छैन ।’