• Menu

सातै प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

नेपाल प्रफिट

२०८१ भदौ २४, सोमबार १८:१४

सातै प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम आयोजना गरेको छ ।

डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४ सयभन्दा बढी बैंकिङ अधिकारीहरुको सहभागिता रह्यो ।

कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको बुझाइमा थप विकास गर्ने, ग्राहकलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्ने, ग्राहकको चेतनाको स्तर बढाउने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्नेलगायतका विषयमा छलफल चलाइएको छ ।

कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोबार, बढ्दो साइबर ठगी र त्यससँग सम्बन्धित चुनौती जस्ता प्रमुख विषय समेटेको संघले जनाएको छ ।

त्यसैगरी सहभागीलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमको व्यावहारिक पक्ष एवं साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको छ ।

कार्यक्रमले डिजिटल वित्तीय सेवाबारे बैंकका कर्मचारीले पुर्‍याउनुपर्ने भूमिकालाई जोड दिँदै कर्मचारीको आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी डिजिटल वित्तीय सशक्तीकरणतर्फ नेपालको यात्रामा एउटा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै सुरक्षित र समावेशी डिजिटल वित्तीय वातावरण प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्