तनहुँ । जिल्लाका स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिएका छन् । सडक कालोपत्र, ‘ग्राभेल’, कच्ची सडक निर्माण र ‘ट्रयाक’ खोल्ने कार्यलाई स्थानीय तहले प्राथमिकता दिएका हुन् ।
जिल्लाका स्थानीय तहले एक वर्षमा ७२/४१ किलोमिटर सडकको नयाँ ट्रयाक विस्तार गरिएको जनाएका छन् । व्यास नगरपालिकाले गत आवमा ३.१९ किमी सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार हालसम्म नगरपालिकाले कुल एक सय एक किमी सडक कालोपत्र गरेको छ ।
गत आवमा ९.८६ किमी सडक ग्राभेल र १२/८४ किमी नयाँ ट्रयाक खोलिएको छ । गैरेका अनुसार हालसम्म एक सय ८४ किमी सडक ग्राभेल र ५ सय ११ किमी नयाँ ट्रयाक खोलिएको छ । गैरेले भने, ‘पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको छ । जनताको माग र आवश्यकतालाई दृष्टिगत गरी विकास अभियान अगाडि बढेको हो ।’
नगरपालिकाले गत आवमा एउटा पार्क, ९.९३ किमी ढल निर्माण गरेको छ । एक सय २९ परिवारमा खानेपानी सुविधा विस्तार भएको छ ।
योसँगै हालसम्म १९ हजार ३ सय ३६ परिवारमा खानेपानी सुविधा पुगेको गैरेले जानकारी दिए । ‘०.५५ किमी नदी नियन्त्रण, १४ हेक्टरमा सिँचाइ, एक स्वास्थ्य चौकी र ८ सामुदायिक भवन निर्माण भएका छन्,’ उनले भने ।
विश्व बैंकको लगानी एवं सहरी विकास मन्त्रालयको सहयोगमा पराशर मार्ग विस्तार निर्माण भइरहेको गैरेले बताए । उनका अनुसार नगर विकास कोषको ऋण सहयोगमा व्यास–१० बैरेनीमा २ सय ७१ रोपनी जग्गामा विकास आयोजनाले गति लिएको छ ।
भानु नगरपालिकाले गत आवमा ६ सय ६० मिटर सडक कालोपत्र, १०/५ किमी ग्राभेल र १.८ किमी सडकको नयाँ ट्रयाक खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार हालसम्म नगरको बजेटबाट २०/६६ किमी कालोपत्र, १४६/५ किमी ग्राभेल र ३१/८ किमी नयाँ ट्रयाक खोलिएको छ ।
सोही वर्ष एक सय १० परिवारमा खानेपानी सुविधा विस्तार, एक हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा, २ विद्यालय भवन, ३ स्वास्थ्य चौकी र १० वटा सामुदायिक भवन बनेका पौडेलले जानकारी दिए ।
भिमाद नगरपालिकाले २.३ किमी सडक कालोपत्र, २.११ किमी ग्राभेल र १३/७३ किमी बाटो विस्तार गरेको छ । नगरपालिकाका अधिकृत टेकावती ढकालका अनुसार २ सय ९७ खानेपानी आयोजना, एक सय ८९ मिटर कुलो, एउटा पोखरी, एउटा स्वास्थ्य चौकी र १० वटा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले १०/८९ किमी सडक कालोपत्र, ८/९१ किमी ग्राभेल र १३/९४ किमी नयाँ ट्रयाक खुलेको छ । नगरभित्र हालसम्म ५५।२५ किमी कालोपत्र, ९५/४८ किमी ग्राभेल ४८/७७ किमी नयाँ ट्रयाक खुलेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । उनका अनुसार २२ पक्की पुल, ५ झोलुंगे पुल, ४ पार्क निर्माण तथा २ सय ६९ परिवारमा खानेपानी विस्तार भएको छ ।
म्याग्दे गाउँपालिकाले गत आवमा ३.९ किमी सडकको नयाँ ट्रयाक, ४.१ किमी ग्राभेल र एक सय ३८ मिटर कालोपत्र भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार सो अवधिमा ६ मोटरवेल पुल र १ झोलुंगे पुल, :’एक घर एक धारा’ अन्तर्गत ४ सय ३० परिवारममा खानेपानी पुगेको छ । गाउँपालिकाले पोखरी र ल्यान्डफिल्ड साइट १-१ र २ वटा वातावरणमैत्री पार्क निर्माण गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाले गत आवमा ३.२ किमी सडक ट्रयाक खोल्ने, १.८ किमी ढलान, १ किमी नदी नियन्त्रण, ४० हेक्टर सिँचाइ सुविधा विस्तार गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सोही अवधिमा २ विद्यालय भवन, ३ पोखरी, १ झोलुंगे पुल, ३ पार्क, ३ सय ३४ परिवारमा खानेपानी विस्तार भएको छ ।
देवघाट गाउँपालिकामा एक वर्षमा १.१ किमी कालोपत्र, २ किमी ग्राभेल र १० किमी नयाँ ट्रयाक खोलिएको, २ मोटरेवल र ३ झोलुंगे पुल, २ सय २० घरमा खानेपानी सुविधा पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले बताए ।
ऋषिङ गाउँपालिकामा सात किमी सडक कालोपत्र, २ किमी ग्राभेल र ५ किमी नयाँ ट्रयाक, ३ झोलुंगे पुल र १ पार्क निर्माण, एक सय ८० परिवारमा खानेपानी विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए ।
घिरिङ गाउँपालिकामा ०।३४ किमी सडक कालोपत्र, ८ किमी नयाँ ट्रयाक खुल्नाका साथै ४ सय परिवारमा खानेपानी सुविधा विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले उल्लेख गरे ।