झापा । कोशी प्रदेशमा डेङ्गीबाट साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेङ्गी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता संक्रमितको संख्या एक सय २८ पुगिसकेको छ ।
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या ५ सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका संक्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको १ जना पनि संक्रमित पाइएको छैन ।
स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको संक्रमण भएको छ ।
यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, संखुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा ५ जना, खोटाङमा ४ जना र तेह्रथुममा २ जनामा डेङ्गी संक्रमण भएको पाइएको छ ।
गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको संक्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा ३ सय ८६ जनामा डेङ्गी संक्रमण भइसकेको थियो ।
झापामा साउन १ यता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको संक्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा ७ जना र भद्रपुरमा ५ जनामा डेङ्गीको संक्रमण भेटिएको छ ।