• Menu

तनहुँमा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र, थपिएको म्याद सकियो, निर्माण सकिएन

नेपाल प्रफिट

२०८१ भदौ २३, १६:४९

तनहुँमा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र, थपिएको म्याद सकियो, निर्माण सकिएन

तनहुँ । देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो ।

देवघाट–५ मा २०७७ साल मंसिर १५ मा शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि २०८० साल असार मसान्तमा सकिएको थियो ।

सो अवधिसम्ममा पिल्लर उठाउने बाहेक अन्य काम नभएपछि गत असार मसान्तसम्मका लागि म्याद थप गरिएको गाउँपालिकाका इञ्जिनियर तीर्थ ढुंगानाले जानकारी दिए ।

‘एक वर्षका लागि थपिएको म्याद सकिएपनि अस्पताल निर्माणमा प्रगति भएको छैन । अस्पतालको पिल्लर उठाएर पहिलो ढलान मात्र गरिएको छ भने अन्य कुनै पनि काम भएको छैन,’ उनले भने ।

देवघाट गाउँपालिकाले पटकपटक ताकेता गरेपछि गत माघ अन्तिम साता ढलान गरिएको थियो । ढलान पछि पुनः निर्माणकर्मीहरु फर्केर नआएको इञ्जिनियर ढुंगानाले बताए ।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली २०७७ सालमा प्रधानमन्त्री हुँदा उनको नेतृत्वको सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा ५ शय्याको अस्पताल बनाउने नीति ल्याएकामा देवघाटमा १० शय्याको अस्पताल बनाउने निर्णय भएको थियो ।

अस्पताल निर्माण गर्न आवश्यक पर्ने जग्गा देवघाट–५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर सो ठाउँमा अस्पतालको शिलान्यास गरिएको थियो ।