गण्डकी । गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको संख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको संख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो ।
सन् २०२३ मा ३ सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो संख्या बढेर ४ सय ७१ पुगेको उनले जानकारी दिए । अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको संख्या बढेको पाइएको उनले बताए ।
कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी-भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवारभतेरी र दमौली ल्याण्डफिलसाइट गरी एकैपटक ८ स्थानमा छुट्टाछुट्टै टोलीले गणना गरेको घिमिरेले जानकारी दिए ।
गणनामा संकटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति-संकटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डंगर गिद्धको संख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ ।
राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ । सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३/२०२९’ लागू गरेको छ । साथै देशभरका चरा तथा वन्यजन्तु संरक्षणमा लागिपरेका संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका छन् ।
सरकारले २०६३ सालदेखि गिद्धलाई अति हानिकारक मानिएको ‘डाइक्लोफेनेक’ पशुको उपचारमा प्रयोग गरिने औषधि प्रतिबन्ध लगाएसँगै गिद्धको संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको घिमिरेले जानकारी दिए ।
सिनोमा हुने विषादी, हाइभोल्टेज तथा बिजुलीका तारमा ठोक्किएर मर्नेक्रम भने लगातार बढेको उनले बताए । समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको संख्या अध्यावधिक गर्दै आइरहेको छ ।