• Menu

घर सम्पन्नता प्रमाणपत्रका लागि घुस लिने पोखरा महानगरका इन्जिनियर दोषी ठहर, पौने २ लाख जरिवाना

नेपाल प्रफिट

२०८१ भदौ २३, ०८:५६

घर सम्पन्नता प्रमाणपत्रका लागि घुस लिने पोखरा महानगरका इन्जिनियर दोषी ठहर, पौने २ लाख जरिवाना

पोखरा । घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिने क्रममा चैत २८ गते रंगेहात पक्राउ परेका पोखरा महानगरपालिकाका कर्मचारी दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले घुस लिने कार्यमा संलग्न इन्जिनियर शिवप्रसाद बराल, सब–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

रोकाया र कुँवर घुसहित पक्राउ परेका थिए भने घुस लिने कार्यमा मुख्य दोषी ठहर गर्दै इन्जिनियर बराललाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले बराल र रोकायालाई जनही एक लाख ७५ हजार रुपैयाँ जरिवाना र आठ महिना कैद सजाय सुनाएको छ । त्यस्तै विचौलिया कुँवरलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय फैसला भएको छ ।

त्यस्तै अनुसन्धानका क्रममा पुष्टि भएको घुसबापतको २ लाख रुपैयाँ इन्जिनियर बरालको खाताबाट जफत गरी उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।

पोखरा १० मा बनेको एउटा घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेको अदालतको ठहर छ । प्रमाणपत्रका लागि दुई लाख रुपैयाँ घुस लिइसकेर थप डेढ लाख लिने क्रममा रोकाया र कुँवर पक्राउ परेका थिए । अख्तियारले अनुसन्धानपछि वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घर निर्माण सम्पन्न प्रमाणपत्रका लागि पटक–पटक धाउँदा पनि नपाएपछि पोखरा महानगरपालिका १० का घरधनीले घुस दिन बाध्य हुनुपरेको भन्दै अख्तियार गुहारेका थिए ।