काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका तीज का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब ३ लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।
शुक्रबार ४ बजेसम्म करिब ३ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका छन् । वर्तालु लाममा बसेसम्म शुक्रबार दर्शन गर्न दिइने कोषले जनाएको छ ।
पर्वका अवसरमा शुक्रबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो । बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो ।
झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो ।
मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको उनले बताए । तीजका अवसरमा प्रथम महिला सविता पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम छ ।
यसैगरी तीजको व्यवस्थापन अवलोकन गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपति जाने जनाइएको छ ।
पर्वका अवसरमा मूल मन्दिरभित्र करिब ६ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा शुक्रबार वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ । धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले शुक्रबार विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।