• Menu

एघार महिनापछि हट्यो टिकटकमाथिको प्रतिबन्ध

नेपाल प्रफिट

२०८१ भदौ २१, शुक्रबार १५:०८

एघार महिनापछि हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

सरकारले सर्तसहित प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकका प्रतिनिधि काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका सबै सर्त मान्न तयार रहेको बताएका थिए ।

टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका प्रतिनिधिले सरकारले राखेका सर्त पूरा गर्ने प्रतिबद्धता पत्र दिएपछि मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २०८० कात्तिक २७ मा टिकटक बन्द गरेको थियो ।

सरकारले टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता एवं सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्त राखेको थियो ।

आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’मा रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि कम्पनी तयार भएको छ ।