काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले बिहीबार मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएका हुन् । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको एक नम्बर विमान कम्पनी चाइना साउदर्नले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।
चीनको गोन्जाउबाट हाल काठमाडौंमा नियमित उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारको प्रशंसा गरेको छ ।

मन्त्री पाण्डेले चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गरे । ‘पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने यहाँहरुको चाहना स्वागतयोग्य छ,’ उनले भने, ‘यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।’
नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाइदा पुग्ने उनले बताए । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत स्पष्ट पारे ।
हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए त्यसबारेमा जानकारी गराउन पनि उनले अनुरोध गरे । द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने मन्त्री पाण्डेको अपेक्षा छ ।