भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।
गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ ।
‘भेडाको ऊन बिक्री हुन छाडेको छ,’ कठेतले भने, ‘गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।’
विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सय रुपैयाँमा बिक्री हुने गरेको थियो । अहिले खोटाङ पुर्याएमा मुस्किलले प्रतिकिलो १५० रुपैयाँमा बिक्री हुने उनले बताए ।
ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनको भनाइ छ । ‘त्यहाँसम्म पुर्याउन नै समस्या छ,’ उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ,’ उनले दुखेसो गरे ।
ऊनबाट बनेको राडीपाखी, लुकुनीलगायतको बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनले बताए । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन छाडेको उनको बुझाइ छ ।
किसान कठेतले विगत १५ वर्ष अघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएका छन् । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिन्छ । उनीसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुन्छ । तर, गत वर्षको ऊन नै बिक्री भएको छैन ।
हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ छन् । एउटा भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा छन् । मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।
भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताए । त्यसमाथि सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मर्कामा छन् ।
विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुर्ख्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उनले बताए ।
‘भेडापालन व्यवसायमा धेरै समस्या छन्,’ उनले भने, ‘लेकाली भेगमा गरिने पेसा भएकाले दुःख धेरै छ । त्यसमाथि ऊन बिक्री हुन छाडेको अवस्था छ । विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जंगली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ,’ उनले भने ।
ऊन बिक्री हुन छाडे पनि किसानले भेडाको मासु, घ्यू तथा भेडाको बोका (बल्याख्रा)को बिक्रीबाट घरपरिवार चलाउँदै आएका छन् । भेडाको घ्यू डढेको, पोलेको घाउमा औषधिका रूपमा प्रयोग हुन्छ । भेडाको मासु प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजारसम्म र घ्यू प्रतिमाना दुई हजार रुपैयाँमा बिक्री हुने किसान बताउँछन् ।
भेडाको चार–पाँच महिनाको बोका १५ हजारदेखि १८ हजारसम्ममा बिक्री हुन्छ । भेडाको बोकाको भने धेरै माग हुने गरेको उनले सुनाए । भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । भेडापालन व्यवसायलाई संरक्षण नगरिए केही समयपपछि पेसा नै संकटमा पर्ने अवस्था रहेको किसानहरु बताउँछन् ।