• Menu

मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ भदौ १९, बुधबार ११:२३

मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलन उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।

‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ, यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ उनले भने, ‘बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देशविदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको बताए । विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट पाठ सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके जननाको मताधिकारको सम्मान हुने उनले स्पष्ट पारे ।

फेम्बोसा वडापत्रलाई सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास छ । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा : जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित छलफल हुनेछ ।

उद्घाटन सत्रका अवसरमा मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलंका, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् । फेम्बोसाको ११औँ सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअल रुपमा भएको थियो ।